Logo
Logo

खेती गर्नेलाई कृषि कर्जा दिन माग



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कृषि कर्जा खेत किन्नेलाई भन्दा पनि खेती गर्नेलाई प्रदान गर्न सरकारसँग माग गरेका छन् ।

मङ्गलवार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३औँ वार्षिक साधारण सभामा अध्यक्ष मल्लले बैंक तथा वित्तीय संस्थाहरूले कृषि कर्जाका नाममा अहिलेसम्म खेती गर्नेलाई भन्दा पनि खेत किन्नेलाई दिने गरेको भन्दै सरकारले पनि सोहीअनुसार कृषि कर्जा प्रदान गर्नुपर्ने बताए ।

अध्यक्ष मल्लले सरकारले कृषिमा दिँदै आएको सहुलियत कर्जा निरन्तरता दिनु पर्नेमा जोड दिए । उनले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई ढड्डाबाट पैसा उठाउने विधि तत्काल खारेज गर्नुपर्ने बताए । उनले सरकारले युवाहरूलाई मुलुकभित्रै रोजगारी दिने गरी तत्काल रणनीतिक योजना बनाउन आग्रह गरे । अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र आयातमुखी भएको बताए ।

उनले कृषिप्रधान देश नेपालले वार्षिक खर्बौँ रुपैयाँ भन्दा बढीको खाद्यान्न तथा खाद्य सामाग्रीहरू आयात गरी उपभोग गरिरहेको बताए । उनले मुलुकमा भएको प्राकृतिक स्रोत र साधनहरूलाई प्रवर्द्धन, उत्पादन, उपभोग र निर्यात गर्न आवश्यक रहेको उल्लेख गरे । उनले तुलनात्मकता लाभ भएका कृषि, जलस्रोत, पर्यटन र आइटीको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको दाबी गरे ।

उनले हस्तकलाका सामग्री, खानीजन्य वस्तुहरू, बहुमूल्य रत्न पत्थर उत्पादन तथा ब्राण्डिङ गरी निर्यात प्रवर्द्धन गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए । उनले आर्थिक गतिविधि बिस्तार र निर्यात प्रवर्द्धनका लागि संसदमा विचाराधीन कानुनहरू यथाशीघ्र संशोधन गरी पारित गर्न माग गरे । उनले नेपालमा काठको आयातलाई बन्द गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्