काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठ सेवा निवृत्त भएका छन् । श्रेष्ठ आफ्नो आठ वर्षे कार्यकाल पूरा गरी २८ चैतदेखि सेवाबाट निवृत्त भएका हुन् ।

उनी २९ चैत ०७२ मा खुला प्रतिस्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रथम पटक नियुक्त भएका थिए । त्यस्तै, २९ चैत ०७६ मा दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए ।
बैंक व्यवस्थापनले एक कार्यक्रमको आयोजना गरी सिइओ श्रेष्ठलाई बिदाइ गरेको छ । प्रतिस्पर्धी बैंकिङ बजारमा बैंकलाई सबल बैंकका रूपमा उभ्याउन श्रेष्ठले गरेको योगदानको चर्चा गरिएको थियो । त्यस्तै, श्रेष्ठले आठ वर्षको अवधिमा आफूले पाएको साथ र सहयोगप्रति सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरे ।
श्रेष्ठको अवकाशसँगै रिक्त रहेको सिइओमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललाई कायममुकायमको जिम्मेवारी तोकिएको बैंकले जनाएको छ ।














