Logo
Logo

खुला टेबलटेनिसमा रिभानले जिते स्वर्ण



काठमाडौं । मैत्रीपूर्ण खुला टेबल टेनिस प्रतियोगितामा रिभान बज्राचार्यले स्वर्ण जितेका छन् । बज्राचार्यले गडस्पिन टेबल टेनिस एकेडेमीले नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको प्रतियोगिताको मिक्स यु–१६ मा स्वर्ण जितेका हुन् ।

यसै विधामा निर्भाना बज्राचार्यले रजत, नेहा श्रेष्ठ र इसान्भी महर्जन कांस्य पदक जिते । प्रतियोगितामा ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष ४० वर्षमाथि भेट्रानमा निम जोशीले स्वर्ण, जेविन्द्र बज्राचार्यले रजत तथा सुरज बज्राचार्य र राजेन्द्र श्रेष्ठले कांस्य जित्न सफल भए ।

ललितपुरको गाहबालस्थित आयोजककै हलमा भएको प्रतियोगिताको पुरुष ५० वर्षमाथि भेट्रानमा नदिमरत्न शाक्य प्रथम, रोशन शाक्य द्वितीय तथा सागर अमात्य र प्रकाश धाख्वा तृतीय भए ।

पुरुष खुलामा सुमन शाक्य पहिलो, रजेन्द्र श्रेष्ठ दोस्रो तथा चन्दन चौधरी र निकेनमान प्रधान तेस्रो बने । विजेतालाई टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपाली र आयोजक गडस्पिनका अध्यक्ष रोशनकुमार शाक्यले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्