Logo
Logo

९ महिनामा उठ्याे ३ खर्ब ६७ अर्ब राजस्व



काठमाडौं । चालु वर्षको ९ महिनामा आन्तरिक राजस्व विभागले ३ खर्ब ६७ अर्ब ९९ करोड राजस्व संकलन गरेको छ । विभागले ४ खर्ब ६८ अर्ब असुल गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको थियो । तर विभागले लक्ष्यमा करिब १ खर्ब भन्दा कम राजस्व संकलन गरेको हो ।

विभागले कुल लक्ष्यको तुलनामा ७८.५२ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु वर्ष अर्थ मन्त्रालयले आन्तरिक राजस्वबाट मात्रै ९ महिनामा ४ खर्ब ६८ अर्ब ६५ करोड राजस्व असुल हुने लक्ष्य लिएको थियो ।

गत वर्षको तुलनामा चालु वर्ष ९.१४ प्रतिशतले राजस्व बढी उठेको छ । विभागले गत वर्षको ९ महिनामा ३ खर्ब ३७ अर्ब १७ करोड राजस्व संकलन भएको थियो । चालु वर्ष पोहोर भन्दा ३० अर्बले बढी राजस्व संकलन भएको हो । अर्थमन्त्री वर्षमान पुनले गत वर्ष भन्दा २० प्रतिशतले राजस्व वृद्धि गर्ने घोषणा गरिसकेका छन् । तर सो लक्ष्य भेट्न सरकारलाई कठिन बन्ने देखिएको छ ।

विभागले चैत महिनामा ५७ अर्ब ५ करोड राजस्व संकलन गरेको छ । विभागले गत वर्ष चैत महिनाको तुलनामा २ अर्ब बढी राजस्व संकलन गरेको हो । पोहोरको चैतमा ५५ अर्ब ५ करोड राजस्व संकलन भएको थियो । चैत महिना राजस्व सङ्कलनको हिसाबले महत्त्वपूर्ण महिना हो । यो महिना करदाताले अग्रिम आयकर बापत ३० प्रतिशत रकम दाखिला गर्ने महिना हो । विभागले चैत महिनामा ८५ अर्ब १० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर विभागले लक्ष्यभन्दा २९ अर्ब ९५ करोड कम राजस्व संकलन गरेको हो ।

विभागले आयकर शीर्षकमा ३३ अर्ब १३ करोड, मूल्य अभिवृद्धि कर (भ्याट) ११ अर्ब ८६ करोड र अन्तःशुल्क ९ अर्ब ६० करोड असुलेको छ । यस्तै ब्याजदर १ अर्ब ३५ करोड, घर बहाल कर १८ अर्ब ७९ करोड, स्वास्थ्य सेवा शुल्क ६० करोड र शिक्षा सेवा शुल्क ३० करोड रुपैयाँ असुल भएको छ ।

विभागको समग्र राजस्व सङ्कलनमा आयकर शीर्षकमा पोहोरभन्दा १३.६८, ब्याजदर १२.५०, भ्याट १०.४९ र शिक्षा शुल्कमा ८७.७० प्रतिशत कर वृद्धिदर देखिएको छ । यस्तै, घर बहाल कर १०.६८, अन्तःशुल्क २.५२ र स्वास्थ्य सेवा शुल्क संकलन ६.३० प्रतिशतले ऋणात्मक छ । 

प्रतिक्रिया दिनुहोस्