Logo
Logo

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, माग सम्बोधन गर्न जोड



विराटनगर । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् । मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमवार आयोजना भएको एक कार्यक्रमलाई कर्मचारीहरूले बहिष्कार गरेका हुन् ।

नेरुडेकै नियमावली लागू हुने सहमति अनुसार मर्ज भएपनि अहिले आएर मिर्मिरेको नियमावली लागू भएको भन्दै कर्मचारीहरू आन्दोलित भएका हुन् । बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडेले व्यवस्थापन पक्षलाई गत चैत ३० गते विगतमा भएका सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण पत्र पठाएको थियो । तर व्यवस्थापन पक्षले वास्ता नगरेपछि आन्दोलित हुनुपरेको कर्मचारी युनियन अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।

मर्ज भइसकेपछि व्यवस्थापन पक्षले साबिकको नेरुडेका कर्मचारीहरूलाई सम्झौता भन्दा फरक व्यवहार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको ढुङ्गानाले बताए । कर्मचारी युनियन र व्यवस्थापन पक्षबिच भएको सम्झौता कार्यान्वयन नभए थप आन्दोलनमा उत्रने र यसको जिम्मेवारी व्यवस्थापन पक्ष हुने भन्दै युनियनले व्यवस्थापन पक्षलाई पठाएको पत्रमा उल्लेख छ ।

२ ग्रेडको रकम बहिष्कार गर्ने, नेरुडे मिर्मिरेद्वारा आयोजित बैशाख ३ गतेको कार्यक्रम बहिष्कार गर्दै सम्पूर्ण कामकाज ठप्प गर्ने साथै आवश्यकता अनुसार आगामी कदम चाल्ने भन्दै व्यवस्थापन पक्षलाई पत्र पठाएको र सोही अनुसार आजको कार्यक्रम बहिष्कार गरिएको कर्मचारी युनियन अध्यक्ष ढुङ्गानाले उल्लेख गरे ।

‘हामीले नेरुडे व्यवस्थापन पक्षसँग गरिएको सहमति कार्यान्वयन हुनुपर्छ भनेका हौँ’, ढुङ्गानाले भने, ‘तर सहमति कार्यान्वयन भएन । ४ ग्रेड हामीलाई दिन्छौँ भनेको थियो तर त्यसो भएन । हाम्रो माग सम्बोधन नभएसम्म काम ठप्प पार्छौँ । हामी मिर्मिरेमा आवद्ध कर्मचारीहरूलाई पनि सँगै लिएर जान्छौँ । किनभने मिर्मिरे र नेरुडे एक भइसकेको अवस्थामा सबै कर्मचारीलाई समेट्नु हाम्रो कर्तव्य हो ।’

व्यवस्थापन पक्षले साबिकको मिर्मिरेमा कार्यरत कर्मचारीको मात्रै तलब वृद्धि गरेको साबिकको नेरुडे र हालको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचरी शिवकुमार मेहताले बताए । उनले आन्दोलनमा उत्रनुको मुख्य कारण पनि यही भएको बताए ।

प्रतिक्रिया दिनुहोस्