Logo
Logo

अख्तियारको प्रमुख ताक्दै शंकरदास बैरागी



काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रको राष्ट्रिय भुक्तानी प्रणालीदेखि नेपाल टेलिकमको बिलिङको ठेक्कासम्म जोडिएका पूर्वमुख्यसचिव शंकरदास बैरागीले कानुनबिपरीत निर्देशिका बनाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको सेवा सुबिधा लिने गरेको पाइएको छ ।

मुख्यसचिवबाट समयावधि अगाडि नै पदमुक्त भएका बैरागीको सुरक्षा सल्लाहकार भएपछि पनि प्रधानमन्त्री पुष्पमकमल दाहाल ‘प्रचण्ड’सँग हिमचिम कायम छ । अंग्रेजीमा दख्खल भएकाले प्रधानमन्त्रीले उनलाई राति राति बालुवाटारमा बोलाएर सल्लाह लिने गरेका छन् । प्रधानमन्त्रीसँग बाक्लो उठबस भएका बैरागीले अहिले पनि निजामती प्रशासनमा आफ्नो हैकम कायम राख्दैआएका छन् ।

ंमुलुकका ठूला ठेक्कामा बैरागीका छोरा अविनाश खनाल, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा अभिषेक श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयबीरसिंह देउवा र राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापा जोडिने गरेका छन् । सूचना प्रविधि क्षेत्रका ठेक्कामा अभिषेक श्रेष्ठ जोडिएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका विवादित ठेक्का अभिषेक श्रेष्ठकै म्याक्स कम्पनीले लिएको छ ।

सिद्धार्थ थापाले विकल र सुनिल पौडेलमार्फत सूचना प्रविधिदेखि टेलिकमका ठेक्का मिलाएर ५ करोडको गाडी नै उपहार लिएका छन् । त्यसो त उनले केसी कन्ष्ट्रक्सनलाई कोशी प्रादेशिक अस्पतालदेखि विभिन्न ठेक्का मिलाउने बिचौलियाको काम गरेर करोडौं लिने गरेका छन् ।

राजनीतिक नेता र उच्च प्रशासकदेखि न्यायालयका हर्ताकर्ताका पुत्रहरुलाई साथमा लिएर विकल र सुनिलले हरेक ठेक्कामा सेटिङ गर्दैआएका थिए । पौडेल बन्धुलाई अख्तियारले थुनामा राखेर अनुसन्धान गरेपछि नेता र उच्चप्रशासकहरुका पुत्रहरुको सेटिङ भेद बिस्तारै खुलिरहेको छ ।

पुत्रहरुको समूहले शेरबहादुर देउवा २०७८ असार २८ मा प्रधानमन्त्री भएपछि दैनिक द्वारीका होटलमा बसेर ठेक्का सेटिङ गर्दैआएको थियो । यो समूहकै योजनामा देउवापुत्र जयवीरलाई स्यानिटरी प्याड आयात गर्न एकाधिकारप्राप्त अनुमति दिइएको थियो ।

नेपालमै अर्बौं लगानीमा स्यानिटरी प्याड उद्योग पर्याप्त खुलिसकेका छन् । विदेशबाट आयात गर्नैनपर्ने भए पनि कच्चपदार्थमा भारी भन्सारदर बढाएर स्वदेशी उद्योगलाई धरासायी पार्नेगरी जयवीरलाई स्यानिटरी प्याड आयातको अनुमति दिइएको थियो । बिचौलियाहरुको सल्लाहमा चल्दा पुत्र जयवीरले समेत कुनै दिन अख्तियारको छानबिनमा पर्नुपर्ने अवस्था निम्त्याइदिएका छन् ।

शंकरदास बैरागी सुरक्षा सल्लाहकार भइरहनुमा पनि पुत्रहरुको सेटिङमा सहयोग गर्नका त हो नै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित संवैधानिक निकायका ५२ पदाधिकारीको सर्वोच्च अदालतमा बिचाराधीन रिटलाई पनि लिन सकिन्छ । उक्त रिटमा सुनुवाइ गरी ५२ पदाधिकारीको नियुक्ति खारेज गराउने र अख्तियाको प्रमुख आयुक्त हुने गरी बैरागी लागेको स्रोतले बताएको छ ।

संवैधानिक नियुक्ति खारेज गरी उनलाई अख्तियारको प्रमुख बनाउन टेरामक्स खरिदमा घोटाला गर्ने पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, विकल र सुनिल पौडेलको गिरोह सक्रिय रुपमा लागेकै छन् ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि कस्सिएरै लागेका छन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पोखरा र भैरहवा विमानस्थलमा गरेको अरबौं अनियमिततामा आयोगले छानबिन गरिरहेको छ । बैरागी मुख्यसचिव हुँदा उनको कार्यकक्षमा बारम्बार जाने गर्थे भने अहिले सुरक्षा परिषदमा पनि उनी प्रायःह घन्टौं उनीसँग देखिने गरेका छन् ।

अख्तियारले तीनवटै विमानस्थल निर्माणमा भएको अरबौं भ्रष्टाचारको छानबिन तीव्र बनाएपछि उनी निकै हतास भएर संवैधानिक निकायका पदाधिकारीको नियुक्ति खारेज गराउन ठूलो रकम नै खर्च गर्न समेत तयार भएको स्रोतले बताएको छ । उता अख्तियारले पनि यही डरका कारण मुख्यसचिव बैकुण्ठ अर्याल, पूर्वमन्त्रीहरु बस्नेत र कार्की, क्यानका डिजी अधिकारीमाथि कारबाही नगरेर हातमा दही जमाएर बसेको छ ।

ध्यानाकर्षण :
नेपाल सरकारका सुरक्षा सल्लाहकार शंकरदास बैरागीले यस दृष्टि साप्ताहिकमा प्रकाशित ‘अख्तियार प्रमुख ताक्दै शंकरदास वैरागी’ शीर्षको समाचारप्रति ध्यानाकर्षण गरेका छन् । आफू अख्तियार प्रमुख बन्ने दौडमा नरहेको भन्दै उक्त समाचारप्रति उनले खण्डन गरेका छन् ।

साथै, उनका छोरा अविनाश खनाल हाल अष्ट्रेलियामा रहेकाे र उनी नेपालको कुनै पनि आइटी सम्बन्धी ठेक्कापट्टामा संलग्न नभएको प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्