Logo
Logo

सहसचिव पदस्थापनमा अटाएनन् सापकोटा



काठमाडौं । अर्थमन्त्री बर्षमान पुन बजेट बनाउने चटारोमा छन् । बजेट बनाउनका लागि कम्फर्टेबल टीम समेत बनाइसकेका पुनले आफ्नै पार्टीनिकट मानिएका सहसचिव नारायणप्रसाद सापकोटालाई भने पदस्थापन गर्ने चासो राखेका छैनन् ।

चैत दोस्रो साता नै अर्थमन्त्रालयमा सरुवा भएर गएका सहसचिव नारायण सापकोटालाई पदस्थापन गरिएको छैन । उनीसँगै ५ सहसचिव अर्थमा भित्रिएका थिए । सापकोटासँगै अर्थमा भित्रिएका सहसचिवद्वय शिवलाल तिवारी र ढुन्डीराज निरौलालाई तत्कालै आन्तरिक राजस्व विभाग र भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिइयो ।

३ देखि ४ महिनासम्म पनि पदमा टिक्न नसक्ने, माओवादी सत्तामा आएपछि शक्तिशाली मन्त्रालयमा सरुवा हुन हतारिने परिचय बनाएका सापकोटा यसपटक भने उनीभन्दा जुनियरले महत्वपूर्ण पद पाउँदा उनी हिस्स बनेका छन् । अर्थमा ५ सहसचिव भित्र्याइयो । अर्थबाट बाहिरिनेभन्दा भित्रने धेरै भएपछि उनी जाममा परेका हुन् ।

मन्त्री पुनले सहसचिवत्रय शोभाकान्त पौडेल, टोकराज पाण्डे, उत्तरकुमार खत्रीलाई अर्थबाट झिक्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीलाई सूची थमाए पनि बजेटपछि गर्ने भनेर पन्छाएका छन् ।

अर्थमा भित्रनका लागि सहसचिव कमल भटटराईले पनि खुट्टो उचालेका छन् । सकेसम्म राजस्व अनुसन्धान बिभागको महानिर्देशक हुने र नपाए अर्थमा जाने पक्षमा सहसचिव भट्टराई छन् । माओवादीको शासनमा सधैं तर मार्न सफल भएका सहसचिव रितेशकुमार शाक्य बजेट महाशाखामा र तिवारी आन्तरिक राजस्व विभागको महानिर्देशक भएपछि सापकोटा अर्थमा बस्ने कि नबस्ने द्विविधामा परेका छन् ।

भन्सार विभाग र राजस्व अनुसन्धान महानिर्देशक भइसकेका उनी आन्तरिक राजस्व विभागको महानिर्देशक पाउने आशामा थिए । तर तिवारीले उछिट्याएपछि उनी अर्थमा बस्ने कि नबस्ने द्विविधामा परेका छन् । मन्त्रालयका अर्थ र राजस्व सचिवको रोजाइमा सापकोटा छैनन् ।

सापकोटाको विगतको कार्यसम्पादनप्रति उनीहरु सन्तुष्ट नभएकाले उनले विभागीय प्रमुख र महत्वपूर्ण महाशाखाको जिम्मेवारी पाउन नसकेको अर्थस्रोत बताउँछ ।

एमाले निकट सहसचिव धनीराम शर्माले राजस्व ब्यवस्थापन महाशाखा र बजेट लेखनको संयोजक पाउँदा सापकोटा भने कतै अटाउन सकेनन् । ५ सदस्यीय बजेट लेखन समितिमा एमाले निकट सहसचिवहरुकै बाहुल्यता हुँदा सापकोटा त्यसमा पर्न नसक्नुलाई आश्चर्यका रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्