Logo
Logo

चीनमा परराष्ट्रकै कर्मचारीबीच लफडा



काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको क्रममा परराष्ट्रकै कर्मचारीहरुबीच लफडा परेको स्रोतले जनाएको छ । नौ दिने चीन भ्रमणमा सहभागी भएका भ्रमणदलकै सदस्यहरुबीच कुटनीतिक मूल्य र मान्यता विपरित लफडा भएको भ्रमणमा सहभागी एक अधिकारीले भने ।

नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं सहसचिव कृष्ण ढकाल, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत सहभागी थिए । त्यही क्रममा सहसचिव ढकालले उपसचिव अरुणा घिसिङलाई अपशब्द प्रयोग गरेर अपमानित गरेको स्रोतले जनाएको छ ।

उनीहरुबीच विवाद भएपछि भ्रमण दलका अन्य सहभागीहरुले सहजीकरण गर्नुपरेको थियो । सो विषयले अहिले परराष्ट्र मन्त्रालयमा चर्चा पाएको छ । ‘दुवै जना परराष्ट्रको कर्मचारी हुनुहुन्थ्यो उहाँहरुबीच ‘प्रोटोकल’मा कुरा नमिलेको हो कि जस्तो लाग्छ,यो विषय चाइनिजले पनि थाह पाए, हामीलाई लज्जाबोध भो’, एक सहभागीले भने ।

उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीनको भ्रमणमा गएका बेला ढकालले घिसिङलाई अपमानित गरेपछि केहीबेर तनाव उत्पन्न भएको थियो ।

तीन वर्ष दुबईको राजदूत हुँदा पनि ढकाल विवादमा आएका थिए । सामाजिक सञ्जालमा आफूविरुद्ध स्टाटस लेखेको भन्दै दुवईमा कार्यरत एक व्यक्तिलाई पक्राउ गराइएको आरोप लागेको थियो । वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका उमाकान्त पाण्डेलाई सामाजिक संजाल फेसबुकमा लेखेको स्ट्याटसलाई लिएर साइबर अपराधमा युएईको प्रहरीले पक्राउ गर्नुमा उनको भूमिका रहेको आरोप थियो ।

यसरी विवादमा रहेका ढकाल यसपटको चीन भ्रमाणलाई पनि विवादमा पारेको परराष्ट्रमा चर्चा चलेको छ । बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरेका थिए । सो क्रममा उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गरेका थिए ।

सोही दौरान उनले चीनकै दक्षिण पश्चिमी सहर छोनछिन नगरपालिकाको अवलोकन भ्रमण गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी छोनछिन कमिटीका सचिव युयान जाइजुनबीच प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता भएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले चीनको सिजाङ स्वायत्त क्षेत्रका पार्टी सचिव वाङ झुङहेङसँग भेट गरी नेपाल–चीन सीमा क्षेत्रका नागरिकले व्यहोर्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका थिए । उनले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरी आर्थिक कूटनीतिमा ध्यान दिन निर्देशन दिए ।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकनसमेत गरेको थियो । भ्रमणका क्रममा सिचुवान प्रान्तको छेन्दु आइपुगेका उनले सिचुवान जनसरकारका गभर्नर हुवाङ सियाङसँग पनि भेट गरी नेपालमा चिनियाँ लगानीका लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्