Logo
Logo

कारबाही भोगेका प्रहरीलाई छानिछानी बढुवा



काठमाडौं । नेपाल प्रहरीभित्र सरुवा, बढुवा पारदर्शी र विभेदमुक्त हुन नसक्दा उच्च मनोबलका साथ कार्यक्षेत्रमा खट्न आनाकानी शुरु भएको छ । खासगरी, बढुवामा कारबाही भोगेका र आफूभन्दा कार्यक्षेत्रमा कमजोर रहेका अधिकृतहरु परेपछि काविल अधिकृतहरुले कार्यक्षेत्र जानेभन्दा जागिर छाडेर अर्को बाटो समात्नेतर्फ ध्यान दिन थालेका छन् ।

डिएसपी र एसपीको बढुवा प्रहरी महानिरीक्षकबाटै हुने भएपनि त्यसमा गृहमन्त्री रवि लामिछाने र उनको सचिवालयको पूर्ण हस्तक्षेपकै कारणले विवादित व्यक्तिहरुको अघि बढ्ने वातावरण बनेपछि प्रहरीभित्र असन्तोष पैदा भएको छ ।

नेपाल प्रहरीको प्रधान कार्यालयअन्तर्गतको बढुवा समितिको चैत २१ गते बसेको बैठकले बढुवा भएका इन्स्पेक्टरले फूली लगाएर डिएसपी भैसकेका छन् । बढुवा हुनेहरुमा निर्मल पनेरू, ऋषिराम घर्तीमगर, दीपक मल्ल, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नवीन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय) छन् । यस्तै, पुरुषोत्तम कार्की, हीरेन्द्रबहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भीषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमलकुमार खड्का डिएसपी बढुवा भएका छन् ।

अहिले बढुवामा परेकाहरू प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) मै कारबाही भोगेकाहरूलाई प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा गरेपछि संगठनभित्र असन्तुष्टि बढेको एक अधिकृतले बताए । ती अधिकृतका अनुसार पाँचजना कारबाही भोगेका इन्स्पेक्टर बढुवामा परेका छन् । ऋषिराम घर्तीमगरसमेत कारबाही भोगेका निरीक्षक हुन् । उनी बढुवाको दोस्रो नम्बरमा छन् । रुपन्देहीमा हुँदा हिरासतमा रहेका व्यक्ति भागेको प्रकरणमा रेकर्डमा जनिने गरी उनलाई नसियत दिइएको थियो ।

त्यसैगरी कारबाही भोगेकाहरूमा लक्ष्मण ओली र भीषणबाबु राई पनि हुन् । लक्ष्मण ओलीले दसैँमा घर जान पाइएन भनेर आफूले बोकेको सञ्चार सेट फुटाएर कमान्डरलाई धम्क्याएपछि उनलाई कारबाही गरिएको थियो ।

बढुवा भएका अर्का पुरुषोत्तम कार्की त एक होइन दुई पटक आर्थिक अपचलनमा परी आन्तरिक कारबाहीमा परेका थिए । उनीहरूको बढुवा भइरहँदा काबिल अफिसरहरूको शीर उचो हुन सकेको छैन ।

राजकुमार सिंह, चन्दबहादुर सिंह, योगराज खतिवडा, प्रवीण कार्की, वीरदत्त पन्त, मोहनजंग बुढथापा, गणेश सापकोटा, आशिष् अधिकारीहरू छुटेका छन् ।

अर्को रमाइलो विषय भने करिब आठ वर्ष पनि प्रहरी सेवा नरहेका प्रहरी निरीक्षक कमलकुमार खड्कासमेत बढुवाका लागि सिफारिस भएका छन् । ०७० चैत ९ मा उनीहरू प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका थिए । खड्कासहित वकिल सिंह, हरिसंह बस्नेत, शंकर श्रेष्ठ, मदन थापा, कृष्ण विष्टसहित केही उम्मेदवार वैकल्पिक सूचीमा परेका थिए । दरबन्दी रिक्त हुँदाहुँदै वैकल्पिकमा राखेको भन्दै उनीहरूले प्रहरी प्रधान कार्यालयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतको आदेश फैसलाबाट उनीहरू प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका थिए ।

२०७२ मा प्रहरी सेवामा प्रवेश गरेको भए पनि दुई वर्ष तालिमै नगरी तलब मात्र खाएर २०७४ मा उनले तालिम लिएका थिए । प्रहरीमा सेवा प्रवेश गरेको उनको ८ वर्ष मात्र भएको छ । खड्का १० वर्ष जागिर खाएकाहरूसँगै बढुवामा परेका छन् । जसले गर्दा अन्यलाई अन्याय भएको छ ।

प्रतिक्रिया दिनुहोस्