Logo
Logo

रहस्यमय बन्दै सशस्त्रको आगलागी



काठमाडौं । सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारणमा आगलागी भएपछि त्यहाँ के के थियो भन्नेमा चासो उत्पन्न भएको छ । त्यतिमात्र होइन ९ नम्बर बाहिनीको सुरक्षा घेरामा रहेको केन्द्रीय भण्डारणमा कसरी आलगाली भयो भन्ने अर्को प्रश्न पनि उठेको छ ।

काठमाडौँको चन्द्रागिरी नगरपालिका, बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारमा गत हप्ता लागेको आगलागीको छानबिन गर्न गृह मन्त्रालय र सशस्त्र प्रहरी बल दुवैले बेग्ला बेग्लै समिति बनाएका भएपनि चुरो कुरातर्फ उन्मुख भएका छैनन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगलागी भएकै दिन नै सशस्त्र मुख्यालयका कार्य विभाग प्रमुख एआईजी वंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरेका थिए । त्यसको २४ घण्टा नबित्दै गृहमन्त्री रवि लामिछानेले मन्त्रीस्तरीय निर्णय गर्दै बेग्लै समिति बनाए । उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका हुन् ।

समितिमा सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिवस्तरका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव सागरमणि पाठक र वरिष्ठ कम्प्युटर इन्जिनियर सुष्मा श्रेष्ठ छन् । यता एआइजी दाहालको संयोजकत्वमा बनेको समितिमा पनि आन्तरिक रुपमा काम गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु रहेका छन् । एआइजी दाहालको समितिले एसपी–डिएसपीलाई बोलाएर सोधपुछ गरेको छ ।

सशस्त्र प्रहरी मूख्यालयले आन्तरिक मातहतका लागि आवश्यक सामान राखेको स्थानमा भएको आगलागीलाई आन्तरिक रुपमा पनि त्यसलाई शंकाको दृष्टिले हेर्न थालिएको छ । सतुंगलमा रहेको गोदाम सशस्त्रको अस्थायी भण्डारण हो । त्यो भण्डारण हेर्ने जिम्मेवारी एसपी राजेन्द्र श्रेष्ठको थियो । उनकै मातहतका कर्मचारीले त्यसलाई रेखदेख गर्नेछन् । बाहिर पठाउनका लागि ल्याइएका सामग्रीहरू उक्त गोदाममा राख्ने गरिन्थ्यो ।

गोदाममा प्रहरीका बुट, टेन्ट, कपडा लगायतका सामग्रीहरू राखिएका थिए । कागजपत्र भने राखिएका थिएनन, कागजपत्र सबै मुख्यालयमा राखिएका थिए । विडम्बना ती सामग्री गत मङ्सिरदेखि वितरण नगरेर थन्काइएको थियो । मातहत निकायमा व्यांकेट अभाव थियो, चुस्ता सामाग्री अभाव थियो । साथै, भीड नियन्त्रणका समाग्रीहरु पनि अभाव थियो, तर पठाइएको थिएन ।

सशस्त्र प्रहरी बल स्रोतका अनुसार त्यहाँ जाने बाटो पनि साँघुरो छ भने त्यसलाई छुट्टै भवनका रुपमा हेरिएको थियो । ‘भण्डार, वितरणको जिम्मा अहिले पनि त्यही शाखा र लेखाको हो उनीहरुले मातहतका निकायलाई सामान पठाउनु पर्यो भने अहिले पनि आफ्नै खल्तीको हालेर दिनुपरेको जस्तै गर्छन’, एक प्रहरी अधिकारीले भने आगलागी भएपछि मात्र त्यहाँ यति सामान थियो भनेर हिसाव देखाउने गरेका छन् ।’

फौजका महत्वपूर्ण सामग्रीहरू राखिएको गोदामको वरपरको दृश्य कैद गर्नका लागि अहिलेसम्म कतै सिसी क्यामेरासमेत जडान गरिएको थिएन । भण्डारणमा को गयो, के सामान निकालेर लिएर गयो, केही थाहा नहुनेगरी सामान राखिएकाले पनि त्यसको इन्चार्ज रहेका एसपी श्रेष्ठमाथि अनुसन्धान हुनुपर्ने सशस्त्रका कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्