Logo
Logo

निक्षेप हिनामिनाकाे आरोपमा ६ जनाविरुद्ध पक्राउ पुर्जी



काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित कल्याण उपकार सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष लीलाबहादुर गुरुङ हाल ललितपुर प्रहरीको हिरासतमा छन् । ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ का स्थानीय समेत रहेका ५२ वर्षीय गुरुङ ललितपुर महानगरपालिका वडा नम्बर–४ स्थित बागडोलमा बस्छन् । उनीमाथि कल्याण उपकार सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको निक्षेप अपचलन गरेको आरोप छ ।

उनीविरुद्ध सीआईबीले पनि काठमाडौंस्थित नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धान गरेको थियो । नयाँ कृषि सहकारी प्रकरणमा मुद्दा नचल्ने निर्णयसँगै उनलाई ललितपुर प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गुरुङ नयाँ कृषि सहकारीको पनि उपाध्यक्ष हुन् ।

कल्याण सेभिङ्ग एन्ड क्रेटिमा जम्मा गरेको निक्षेप हिनामिना गरेको आरोपमा ६ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी हुनेमा काठमाडौं महानगरपालिका–१८ घर भएका रोशनमान वैद्य, काठमाडौं महानगरपालिका–९ घर भएका रामकृष्ण जयखु श्रेष्ठ, काठमाडौं-१६ का मोहनकृष्ण गुरुङ, ललितपुर महानगरपालिका–२० घर भएका चण्डिका श्रेष्ठ जोशी, ओखलढुङ्गा रुम्जाटारकी मुंङ्गा गुरुङ र काठमाडौं- १५ घर भएका सरिता महर्जन छन् । उनीहरू सबै सो सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभका सञ्चालक हुन् ।

कल्याण सेभिङ्गको रकम हिनामिना गरेको आरोपमा अहिलेसम्म १५१ जना पीडितले जाहेरी दिएका छन् । अहिलेसम्म परेको जाहेरीअनुसार २८ करोड ११ लाख ७१ हजार रकम हिनामिना भएको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्