Logo
Logo

अमेरिकामा पाँच सय बढी नेपालीमा कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता


वासिंगटन डिसी, २३ चैत । अमेरिकामा बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् ।
अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ । तर, यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति संक्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् ।
अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ । अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको बताएका छन् ।
अमेरिका भ्रमणमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र उनीहरुमा ‘ओभरस्टे’ हुने हो कि भन्ने आशंका रहेको छ । अमेरिकाको राज्यसभाको विधायकमा निर्वाचित ह्यारी भण्डारीले नेपालीभाषी अमेरिकीको सहयोगका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रम गरेको बताए ।
भण्डारीले आफ्नो विभिन्न माध्यम तथा स्थानीय नेपाली समुदायसँगको परामर्शका आधारमा दैनिकरूपमा नेपालीभाषीहरु कोरोनाबाट सङ्क्रमित भएको रिपोर्ट आएको बताए । भण्डारीको कार्यालयले नेपालीभाषीका लागि बेरोजगार घोषणा गर्ने फर्म तथा व्यवसायमा आधारित कर्जा तथा कतिपय व्यक्तिको संक्रमण परीक्षणका लागि सहयोग गरेको बताउँछन् ।
संघीय जनप्रतिनिधिसँग समेत सहकार्य गरेर नागरिकका विभिन्न समस्याको सहजीकरणका लागि काम गरिरहेको उहाँले बताउँछन् । उनले मेरिल्याण्ड जनरल एसेम्बलीमा हेल्थ एण्ड गभर्नमेन्ट अपरेशन कमिटीको सदस्यका रूपमा समेत काम गरिरहेका छन् । यसपटक मेरिल्याण्डको जनरल एसेम्बली १५८ वर्षमा पहिलोपटक तोकिएको समयभन्दा अगावै कोरोना भाइरसका कारणले अन्त्य गरिएको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा पेशाले चिकित्सकसमेत रहेका डा केशव पौडेल अमेरिकामा रहेका नेपालीमा मनोवैज्ञानिक सन्त्रास अत्यधिक रहेको बताउँछन् । कोरोना भाइरसको सामान्य लक्षण देखिएका ८० प्रतिशतभन्दा बढीले खानपान र सामाजिक भेटघाट कम गरी आफैँ क्वारेन्टाइनमा बस्दा यसमा कुनै चिन्ता लिनुनपर्ने पौडेलको भनाइ छ ।
पौडेलले अमेरिकाभरिका बिरामीको प्रकृति र प्रवृत्ति हेर्दा १५ प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आएको र पाँच प्रतिशतलाई इन्सेटिभ केयर युनिट (अति सघन कक्ष) मा भर्ना गर्नुपरेको देखिएको बताए । त्यसमध्ये करिब एक दशमलव ४ प्रतिशतका बिरामीले जीवन गुमाउनुपरेको छ ।
पौडेलका अनुसार करिब ५०० नेपाली कोरोना भाइरसको सङ्क्रमित भएका छन् । तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोनाका कारण न्यूयोर्कमा बस्दै आउनुभएका अनिल लिम्बूको गत साता निधन भएको थियो ।
नेपालीहरु अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्ने तथ्यांक छ । यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जि्निया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् ।
अमेरिकाको पचासै राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने मुख्यरूपमा न्यूयोर्कमा बढी देखिएको । न्ययोर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्यांक रहेको छ । तर संघीय सरकारले स्वास्थ्य बीमा नभएकाहरुको पनि उपचार गर्ने र राहत प्याकेजअन्तर्गतको प्रतिव्यक्ति १२ सय डलर उपलब्ध गराउने भएकाले धेरै आत्तिन नपर्ने धारणा भण्डारीको छ ।
भण्डारीले हरेक राज्यमा बस्ने नेपालीलाई सहयोग गर्न आफ्नो कार्यालयले राज्यपिच्छेको सम्पर्क ठेगानासहितको विवरण आफ्नो वेबसाइटमा राखेकोसमेत बताए । अमेरिकामा ३०० रजिष्टर्ड नर्स आबद्ध रहेको सान सोसाइटी अफ अमेरिकन नेप्लिजको अध्यक्ष रहेकी मञ्जु संग्रौलाले दिएको जानकारीअनुसार उनीहरुसँग आबद्ध नर्सहरु सबै ‘एक्टिभ ड्युटी’मा रहेका छन् ।
यसैगरी एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले भने, ‘हामीले अनौपचारिक तथ्यांक संकलन गरेका छौँ, यसरी तथ्यांक केलाउँदा करिब ५०० कोरोना भाइरसको संक्रमित भएको देखिएको छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी घरमा नै आइसोलेसनमा बसेका छन् ।’
सापकोटाका अनुसार कोरोना भाइरस पोजेटिभ देखिँदैमा जीवन अन्त्य हुन्छ भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्छ । अमेरिकामा आफ्नो स्वास्थ्य अस्वस्थाका बारेमा जानकारी दिने विषय गोपनीयताको हक भएकाले पनि यकिन तथ्यांक पत्ता लगाउन कठिन हुने सापकोटाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्