Logo
Logo

पाटन घुमौं र जानौं



काठमाडौं । नेपाली विद्यार्थीहरुका लागि नेपालको कला, संस्कृति, परम्परा र सम्पदासम्बन्धी ज्ञान दिने उद्देश्यले आज पाटनस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत १२ जना छात्राहरुले पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका छन् ।

काठमाडौं भ्याली प्रिजर्भवेशन ट्रष्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रममको शुभारम्भ काठमाडौंस्थित अमेरिकी दूतावासका राजदूत डिन आर थम्पसनले आज बिहान एक समारोहका बीच गर्नुभयो ।

उक्त अवसरमा ट्रष्टकी निर्देशक सोफिया पाँडेले आफ्नो सम्पदाप्रति जनचेतना जगाउन र पुरातात्विक महत्वका विषयमा विद्यार्थीहरुलाई जानकारी दिन ट्रष्टले यस प्रकारको कार्यक्रम सन् २०१७ देखि गर्दै आएको बताइन् ।

पाँडेले दृष्टि अनलाइनसँग भनिन्– ‘पाटन दरबार घुमौं र चिनौं’ भन्ने अंग्रेजी र नेपालीमा ट्रष्टले नक्सा निकालेको छ । उक्त नक्सामा पाटन दरबार स्क्वायरभित्र के–के पुरातात्विक महत्वका सामग्रीहरु छन्, त्यसको परिचयसमेत दिइएको छ ।’

उक्त नक्सा हेरेर विद्यार्थीहरुले कुन ठाउँमा के कस्तो मूर्ति र मन्दिरहरु छन्, त्यसको इतिहास र महत्वका विषयमा ज्ञान आर्जन गर्न सक्नेछन् । उक्त नक्सा पाटन दरबार म्युजियम घुम्न आउने पर्यटकहरुका लागि समेत उपयोगी रहेको छ ।

‘पाटन दरबार घुमौं र चिनौं’ नक्सामा पाटन दरबार स्क्वायरमा रहेको केशवनारायण चोक, इस्वी १७औँ शताब्दीमा निर्माण गरिएको कृष्ण मन्दिरको इतिहास, चार नारायण मन्दिरको ऐतिहासिक महत्व, मंगलबजार आजभन्दा हजार वर्ष अगाडि कस्तो थियो भन्ने इतिहास, दिपंकर बुद्धको महत्व र भिक्षादान गर्ने परम्परा, मल्ल राजाहरुको सिंहासनको ऐतिहासिक तथ्य आदि समेटिएको छ ।

उक्त नक्सा सुमन महर्जनले बनाएका हुन्भने लेखक ऋषि अमात्य र सम्पादन श्याटटे बज्राचार्यले गरेका हुन् । यस नक्साको आधारमा विद्यार्थीहरुले पुरातात्विक महत्वको सम्पदाका बारेमा कति बुझे भन्ने कुरा लिखितरुपमै दिनुपर्ने छ । यो एक प्रकारको ज्ञान मात्र नभई प्रयोगात्मक परीक्षा पनि हो ।

नेपाल घुम्न आउने पर्यटकहरुले पाटन दरबार स्क्वायरको विषयमा अध्ययन, अनुसन्धान गर्दै आए पनि हामी नेपालले आफ्नो सम्पदाबारे त्यति चासो राख्दैनौं । विद्यार्थीकालदेखि नै हाम्रो सम्पदाको विषयमा जानकारी दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो । जसबाट विद्यार्थी, अभिभावक र समाजको सम्पदाप्रति मोह र आकर्षण बढ्ने विश्वास काठमाडौं भ्याली प्रिजर्भवेशन ट्रष्टकी डेभलपमेन्ट निर्देशका सोफिया पाँडेले लिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्