Logo
Logo

२८ सहसचिव सरुवा, उद्योगबाट ४ सहसचिव बाहिरिए



काठमाडौं । २८ सहसचिवको सरुवामा सबैभन्दा उद्योग मन्त्रालयका परेका छन् । उद्योग मन्त्रालयबाट चन्द्रकला पौडेल, बाबुराम गौतम, लीलाप्रसाद शर्मा र गजेन्द्रकुमार ठाकुरको सरुवा भएको छ । चन्द्रकला करिब ३ बर्षदेखि उद्योग मन्त्रालयमै कार्यरत थिइन् । अन्तिम समयसम्म उद्योग विभागको महानिर्देशक बन्न प्रयासमा रहेकी पौडेलको त्यो चाहना भने पूरा नहुँदै उनी उद्योगबाट बाहिरिएकी छन् ।

मन्त्रालय प्रवेशदेखि सरुवा नभएसम्म आकर्षक मानिने औद्योगिक पूर्वाधार महाशाखामा कार्यरत पौडेलको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ । सहसचिव बाबुराम गौतम राजस्व समूहको उपसचिवबाट खुल्ला प्रतिस्पर्धामा सहसचिव भएका हुन् । उनी अर्थको क्याडर भएकाले सचिव मधु मरासिनीको रोजाइमा उतै पुगेका छन् ।

उद्योग मन्त्रालयमा रहँदा औद्योगिक प्रबद्र्धन महाशाखा, कर्मचारी प्रशासन महाशाखा र उद्योग विभागको महानिर्देशक समेत करिब ९ महिना भएका थिए । उनको कार्यकालमा विभागको उद्योगमैत्री छवि कायम हुन नसकेको बताइन्छ । गौतमलाई अर्थमा महत्वपूर्ण महाशाखाको प्रमुख बनाउने गरी सचिव मरासिनीले लगेको बताइन्छ ।

बाणिज्य विभागको महानिर्देशकबाट ३ महिनामै मन्त्रालयमा तानिएका लीलाप्रसाद शर्मा रक्षा मन्त्रालय पुगेका छन् । उनको रोजाइ अर्थ र गृहमन्त्रालय भए पनि रक्षामा जानुपरेको छ । बाणिज्यकै डीजीबाट मन्त्रालयको आपूर्ति ब्यवस्थापन महाशाखाको प्रमुख रहेका गजेन्द्रकुमार ठाकुर संचार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् ।

उद्योगमा हालै बढुवा भएका देवराज जोशीलाई लगिएको छ । सुदूरपश्चिमका जोशीलाई मन्त्री दामोदर भण्डारीको रोजाइमा लगिएको बताइन्छ । उनलाई मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाको जिम्मेवारी दिने तयारी छ । उद्योगकै अन्य सहसचिवहरु बाणिज्य विभागका महानिर्देशक तीर्थ चिलुवाल, मन्त्रालयका छवि रिजालको भने लगानी सम्मेलन लगत्तै सरुवा गर्ने तयारी छ ।

मन्त्रीका निजी सचिव विवेक घिमिरेको रोजाइमा रहेका कर्मचारीहरुलाई छानीछानी मन्त्रालय भित्र्याउनका लागि मन्त्री भण्डारीले ठूलो साथ सहयोग रहेको छ । भण्डारी मन्त्रालयमा बहाली भएदेखि नै सरुवामा विशेष रुची राख्दैआएका छन् ।

कर्मचारी प्रशासन शाखाका घनश्याम सुवेदी, अर्का उपसचिव लीलाधर अधिकारी र निजी सचिव घिमिरेको दैनिकी नै कर्मचारीको सरुवाको सूची बनाउने र कार्यान्वयन गर्ने गराउनेतिर केन्द्रित छ । लगानी सम्मेलनको चटारोलाई छाडेर मन्त्रालयको नेतृत्व सरुवामै रमाउँदैआएको छ । निजी सचिव घिमिरे र स्वकीय सचिव लोकेन्द्र भण्डारीले कार्यकक्षमै सहसचिवदेखि मुनिका कर्मचारीहरुलाई बोलाएर सेनाको शैलीमा निर्देशन दिंदैआएको गुनासो छ ।

त्यस्तै, रक्षाका सहसचिव बाबुराम अधिकारी उद्योग मन्त्रालयमा सरुवा भएका छन् । उनी आगामी दर्शैैंअघि नै सचिवमा बढुवा हुने सहसचिव हुन् । अर्थ मन्त्रालयका लक्ष्मीप्रसाद निरौला उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । उनी उद्योग विभागको महानिर्देशक हुनका लागि सरुवा भएको बताइन्छ । एमाले अध्यक्ष केपी ओलीकै गृहजिल्लामात्र होइन, घर नै सँगै भएकाले उनी उद्योग विभागको डीजी हुने लगभग पक्का रहेको छ । विभागका हालका डीजी यज्ञ कोइराला सरुवा भएको ३ महिना पनि पुगेको छैन ।

त्यस्तै, उपसचिव हुँदा नगरपालिकाहरु र सहसचिव भएपछि उपमहानगर र महानगरपालिकामात्रै सरुवा हुँदैआएका वीरेन्द्रदेव भारती मेयर रेणु दाहालको रोजाइमा भरतपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन् । बुढानीलकन्ठ, गोकर्णेश्वर, बुटवल, पोखरा, ललितपुर र अहिले भरतपुर महानगरमा पुगेका भारती कमल थापा संघीय मामिला मन्त्री हुँदा उनका निजी सचिवसमेत भएर काम गरेका थिए ।

पानीजहाज कार्यालयमा लामो समयदेखि कार्यरत प्राविधिक सहसचिव विपिन राजभण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् । अर्का प्राविधिक सहसचिव प्रेमकुमार सिंहलाई मधेश प्रदेशबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । उनी प्रायः आकर्षक मानिएका तत्कालीन बागमती यातायात कार्यालयमा लामो समय बसी अकूत सम्पत्ति आर्जन गर्नेमा पर्दछन् ।

प्राविधिक सहसचिव शैलेशकुमार झा १ बर्षमै ४ पटक सरुवा हुने कर्मचारीमा परेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा कार्यरतलाई उनलाई शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरियो । गुणस्तर बिभागको महानिर्देशक रहेका दीनानाथ मिश्रलाई फेरि विज्ञान प्रबिधिमा ल्याएपछि झालाई केही महिनामै उद्योग मन्त्रालयमा सरुवा गरियो । झाको दरबन्दी गुणस्तर विभागमा भए पनि उनी मन्त्रालयमै हाजिर गरेर बसिरहे । असन्तुष्ट भई जिम्मेवारी नलिएका उनै झालाई अहिले वन मन्त्रालयमै सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्