Logo
Logo

डाटा सिस्टमको टेण्डरमै चलखेल


221
Shares

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचारको आरोपमा जेल परे पनि टेलिकममा अझै पनि जेल परिन्छ भन्ने कुराको डर छैन । जेल परे परिन्छ भन्दै कामु प्रबन्ध निर्देशक संगीता पहाडीले नयाँ डाटा सिस्टमको टेण्डरमा हुवावे कम्पनीसँग सेटिङ गरेको पाइएको छ ।

नेपाल टेलिकमले हुवाई कम्पनीलाई डाटा सिस्टमको ठेक्का दिनकै लागि सन् २०१८ मा तयार पारिएको सूचीलाई आधार मानेर डाटाको ठेक्का निकालेको छ । टेण्डर निकाल्दा ‘गार्टनर’को सर्टलिष्टलाई आधार मानिएको छ । जसमा हुवावेलगायत केही कम्पनीको नाममात्र समावेश गरेर अन्य कम्पनीलाई प्रतिस्पर्धाबाट बाहिर राख्न खोजिएको प्रष्ट छ ।

टेलिकम स्रोतका अनुसार टेलिकमको बोर्ड बैठक २०७८/४/४ ले अहिलेको प्रणालीमा प्रयोग भएका अधिकांश उपकरणहरु १० वर्ष पुरानो भएकोले नयाँ प्रविधि भित्र्याउने गरी नयाँ मूल्यांकनको आधारमा बिलिङको टेण्डर गर्न निर्देशन दिएको भए पनि अहिलेको व्यवस्थापनले त्यसलाई लत्याएर ६ वर्ष पुरानो आधारलाई टेकेर टेण्डर प्रकाशित गरेको छ ।

तत्कालीन बोर्डले नियामक निकायले तोकेको मापदण्डबमोजिम गुणस्तर सुनिश्चित हुनेगरी बिलिङ प्रणाली स्थापना गर्नुपर्ने, सार्वजनिक खरिद ऐन एवं कम्पनीको आर्थिक नियमावलीको परिधिभित्र रहेर खरिद प्रक्रिया अगाडि बढाउनुपर्ने र बिलिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रचलनअनुसार प्रतिस्पर्धा सीमित नहुने गरी नयाँ बिलिङ प्रणालीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने भनिए पनि सन् २०११ देखि अहिलेसम्म काम गरिरहेको चीनको एसिया एन्फोलाई यस टेण्डरबाट भाग लिन बञ्चित गरेको देखिन्छ ।

किनभने, ‘गार्टनर’ले सन् २०१८ मा गरेको सूचीमा एसिया इन्फोको नाम समावेश छैन । अहिले काम गरिरहेको कम्पनीलाई हटाएर हुवावेलाई बिलिङको टेण्डर दिने नियतले यो टेण्डर निकालेपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले छानबिन थालेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार न्यूनीकरण गर्न बेलाबेलामा सचेतना अभियान चलाउने गरे पनि टेरपुच्छर नलगाउने गरेको यस घटनाबाट पनि पुष्टि हुन्छ । आयोगले २०८० कात्तिक १२ र १३ गते नेपाल सरकारका सचिव, विभागीय प्रमुखहरुलाई आयोगको कार्यकक्षमा बोलाएर लिखित निर्देशन नै दिएको थियो ।

उक्त निर्देशनको बुँदा नं. ८ मा स्पष्ट रुपमा ‘बोलपत्र मूल्यांकनमा प्रतिस्पर्धालाई सीमित गर्नेगरी’ ‘भेण्डर लक’ हुन नदिने व्यवस्था मिलाउन निर्देशन दिए पनि बिलिङको नयाँ टेण्डरमा काम गरिरहेको कम्पनीलाई टेण्डरमा भाग लिनबाट बञ्चित गरिएको छ ।

सन् २०११ मा एसिया इन्फोलाई १.५ मिलियन अमेरिकी डलरमा ठेक्का दिइएको डाटा सिस्टम अहिले ३ मिलियन अमेरिकी डलरमा खरिद गर्न लागिएको छ । सूचना प्रविधिमा व्यापक परिवर्तन आइरहेको र त्यसबमोजिम टेलिकमको गुणस्तर बढाउन पनि नयाँ स्पेक तयार गरेर टेण्डर निकाल्नुपर्नेमा पुरानै बोर्डले पास गरेको टेण्डर निकाल्नुले यसमा मोटो कमिशनको नियत लुकेको स्पष्ट हुन्छ ।

स्रोतका अनुसार सूचना तथा सञ्चारमन्त्री रेखा शर्माको यसमा संलग्नता रहेको टेलिकमका कर्मचारी बताउँछन् । संगीता पहाडी टेलिकमको प्रबन्ध निर्देशक हुनकै लागि पहाडीले मन्त्री शर्माको निर्देशन पालना गर्दै पुरानै टेण्डर निकालेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्