Logo
Logo

एक खेलअगावै नेपालले गुमायो टी-२० सिरिज



काठमाडौं । नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी-२० सिरिज एक खेल अगावै गुमाएको छ । बिहीबार भएको चौथो खेलमा पराजित भएसँगै नेपालले सिरिज ३-१ ले गुमाएको हो ।

सिरिजको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय भोग्यो । पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

चौथो खेलमा नेपाल २८ रनले पराजित हुँदै सिरिज सुम्पन बाध्य भयो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्टइण्डिज ‘ए’ ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८१ रनमा समेटियो ।

नेपालका क्याप्टेन रोहित पौडेलले सर्वाधिक ८२ रनको योगदान गरे । आक्रामक बलिङ गरेका रोहितले ४७ बल खेल्दा ७ चौका र ५ छक्का प्रहार गरे ।

सन्दीप जोरा, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान १९ रन बनाए । कुशल मल्ल ४ र कुशल भुर्तेल एक रनमा आउट हुँदा आसिफ शेख र प्रतिश जिसि शून्यमा पभेलियन फर्किए ।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो ।

उसका आन्द्रे फ्लेचर र जोन्सन चार्ल्सले अर्धशतकीय पारी खेले । ५४ बल खेलेका फ्लेचर ८४ रनमा अविजित रहे । उनले ९ चौका र ४ छक्का प्रहार गरे ।

चार्ल्सले ५८ रनको योगदान गरे । ३० बल खेलेका उनले ६ छक्का र ३ चौका हिर्काए । फाबिआन एलेनले आउट नभई ३३ रन बनाए । नेपालका कुशल भुर्तेलले २ र प्रतिस जिसिले एक विकेट लिए ।

सिरिज अन्तर्गत पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–ट्वेन्टी विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज एबीच मैत्रीपूर्ण खेल भइरहेको हो ।

विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकपमा नेपाल समूह डीमा छ । जसमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । वेष्ट इण्डिज समूह ‘सी’ मा छ । यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगाण्डा छन् ।

प्रतिक्रिया दिनुहोस्