Logo
Logo

गण्डकी प्रदेश: ३० जनाकै समर्थनमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा, कांग्रेस सर्वाच्च जाने



काठमाडौं । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बहुमत पाएको घोषणा गरेका छन् । मुख्यमन्त्रीले बहुमत नपाए पनि सभामुखले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री अधिकारीले आज संसद्‌मा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३०, विपक्षमा २७ र तटस्थमा २ मत परेको छ । ६० सदस्यीय प्रदेशसभामा बहुमत हुन ३१ सदस्य हुन्छ तर सर्वोच्च अदालतको आदेश देखाएर सभामुख धितालले ३० जना हुँदा बहुमत पुगेको घोषणा गरेका हुन् ।

६० सदस्यीय प्रदेशसभामा बहुमत हुनलाई ३१ मत आउनुपर्नेमा ३० मतलाई नै बहुमत घोषणा गरेपछि विवाद चर्किएको छ। त्यसको विरोधमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्यले नाराबाजी गरेका थिए ।

प्रदेशले मुख्यमन्त्री अधिकारीले विश्वासको मत घोषणा गरेपछि कांग्रेसले भने सर्वोच्च अदालत जाने भएको छ ।

कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत सर्वोच्च अदालतको व्याख्या विपरीत भएको बताए । आइतबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले न्यायिक निरूपणको लागि आफूहरू फेरि न्यायालय जाने बताए ।

उनले भने, ‘हामी दुई लडाइ लड्ने छौँ । राजनीतिक रूपमा पनि हामी लड्ने छौँ भने न्यायिक रूपमा पनि लड्छौँ । आज उहाँहरूले बलजबरजस्ती शैलमा सत्ता कब्जा गर्ने, संसद् कब्जा गर्ने प्रयत्न गर्नुभयो त्यसको नेपाली कांग्रेस भर्त्सना गर्छ ।’ उनले यस्ता गतिविधिले संविधान सिध्याउने खेल भएको बताए । उनका अनुसार सोमबार नै कांग्रेस सर्वोच्च अदालत जानेगरी तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्