Logo
Logo

डढेलो लगाउनेलाई खाेजेर कारबाही गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा बसेको ‘डढेलो र आगलागीसम्बन्धी आपत्कालीन बैठक’ मा बोल्दै उनले आगालागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने भनदै आगो लगाउनेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका हुन् । आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने गृहमन्त्री लामिछानेको भनाइ थियो ।

उनले आगो लगाउने व्यक्तिबारे सूचना भए स्थानीय सरकार, जनप्रतिनिधि, स्थानीय प्रशासन, नजिकको प्रहरी कार्यालयलगायतलाई दिन पनि अनुरोध गरेका छन् । मन्त्री लामिछानेले नागरिकको ज्यान बचाउन राज्यले स्रोत–साधनको अभाव देखाउन नहुने पनि बताए ।

स्रोत–साधन अपुग रहे पनि भएकाको उच्चतम सदुपयोग गर्न, कार्ययोजना बनाएर अगाडि बढ्न, जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वतयारी गर्न उनले निर्देशन दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार दुई महिनायता आगलागीका घटनामा परी ५० जनाको ज्यान गएको छ भने एक सय ४० जना घाइते भएका छन् । एक हजारभन्दा बढी घर पूर्णरुपमा नष्ट भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्