Logo
Logo

माधव नेपालले बोलाए संसदीय दलको बैठक



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । आज अपरान्ह संसदीय दलको बैठक बोलाइएको हो ।

एकीकृत समाजवादीका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि अध्यक्ष नेपालले दलको बैठक बोलाएको बताइएको छ । जसपा विभाजनसँगै एकीकृत समाजवादी पनि विभाजन हुने चर्चा चलिरहेको बेला अध्यक्ष नेपालले बैठक बोलाएका हुन् ।

उपेन्द्र यादवसहित यो गठबन्धन छाडेर वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बन्ने प्रयासमा तत्काल अवरोध भएपछि नेता नेपाल चिन्तित छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अहिलेको सत्ता समिकरणबाट निकाल्न प्रधानमन्त्रीलाई संकेत गरिसकेका छन् ।

यस्तै, उपेन्द्र यादवलाई उपप्रधानमन्त्रीबाट हटाएर उनको ठाउँमा विभाजित जसपाका सांसदलाई मन्त्री बनाउने तयारी रहेको स्रोतको भनाइ छ । अबको रणनीति बनाउनका लागि अध्यक्ष नेपालले संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक मेटमणी चौधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्