Logo
Logo

मधेशका मुख्यमन्त्री यादवले भने- केन्द्रमा पार्टी फुटेपनि प्रदेशमा कोही टसमस छैनौँ



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि जसपा नेतृत्वको मधेश प्रदेश सरकारको नेतृत्व फेरि परिवर्तन हुने सम्भावना बढेको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा मधेस सरकारमा जसपाको मुख्यमन्त्री छ । पार्टी विभाजन भएपछि सोमबार पहिलोपटक संसदीय दलको बैठक बसेको हो । बैठकमा पार्टी विभाजन र प्रदेशसभा बैठक संचालनबारे छलफल भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवको निवासमा बसेको संसदीय दललको बैठकमा १६ जना प्रदेशसभा सदस्य सहभागी थिए । मधेस प्रदेशमा जसपाका १९ जना सांसद छन् । उनीहरुमध्ये सरोज सिंह कुशवाहा, शारदा शंकर साह र साहिदा खातुन अनुपस्थित थिए । साह र खातुन विवाह कार्यक्रममा व्यस्त भएको र कुशवाहा पार्टीकै काममा ब्यस्त रहेकाले बैठकमा उपस्थित हुन नसकेक बताइएको छ ।

उनीहरुले आफूहरु सबै अध्यक्ष उपेन्द्र यादव पक्षमा रहेको बताए । मुख्यमन्त्री यादवले भने, ‘हामी सबै उपेन्द्र यादवसँग छौं । कोही टसमस हुने अवस्थामा छैन ।’ केन्द्रमा पार्टी फुटेपनि प्रदेशमा सबै सांसदहरु एकढिक्का रहेको उनको दावी छ ।

‘मधेश प्रदेशमा विभाजनको केही प्रभाव गर्दैन । सबै प्रदेश सांसद एक ढिक्का छन्’ मुख्यमन्त्री यादवले भने, ‘फुटेर जाने सबैको राजनीति समाप्तै भएको छ ।’ मधेश प्रदेशमा आफुहरु सरकारमा रहने वा नरहने संघमा बन्ने समिकरणले निर्धारण गर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्