Logo
Logo

सम्पादकीय : हरेक काण्डमा बालुवाटार किन मुछिन्छ ?

सम्पादकीय


शम्भु श्रेष्ठ


  • शम्भु श्रेष्ठ

आज चैत २५ गते मंगलबार, ‘लकडाउन’का कारण दृष्टि साप्ताहिक प्रकाशित हुन सकेन । ‘दृष्टि न्युजडटकम’बाट हरेक क्षण यहाँहरुसमक्ष उपस्थित भइरहेका छौँ । सिंगो विश्व कोरोना भाइरस (कोभिड–१९)को त्रासमा बाँचिरहेका बेला सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाह गर्नु हाम्रो दायित्य हो ।
जस्तोसुकै कठिन परिस्थितिमा पनि देश र जनताप्रतिको जिम्मेवारी हामीले निवार्ह गर्दै आएका छौँ । कोरोना भाइरसको संक्रमणबाट विश्वमा १३,४९,८७७ जना संक्रमित भएका छन् । २८६,८७७ जना उपचारपछि घर फर्किएका छन् भने यो सम्पादकीय तयार पार्दासम्म ७४,८२० को मृत्यु भएको छ । तर, नेपालमा संक्रमितको संख्या ९ पुगेको छ । आजसम्म कोरोना भाइरसबाट एक जनाको पनि मृत्यु भएको छैन ।


यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे राष्ट्रको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा ‘अहिलेको परिस्थितिमा मानव जीवनको रक्षा गर्नु नै सरकारको पहिलो दायित्व’ भएको बताएका छन् । उनले सम्बोधनका क्रममा विश्वका कैयौँ विकसित देशहरु कोरोना भाइरसका कारण आतंकित भइरहेको अवस्थामा नेपालजस्तो अल्पविकसित कम श्रोत, साधन भएको देशले पनि यसको रोकथाम गर्ने प्रयास गरिरहेको बताएका छन् । उनले यस कार्यमा सिंगो पार्टीपंक्ति, राजनीति दल, सुरक्षाकर्मी, कर्मचारी र स्वास्थ्यकर्मीहरु अहोरात्र खटिएकोमा प्रसंशा गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफू सुशासनप्रति प्रतिवद्ध भएकाले भ्रष्टाचार हुन नदिन प्रतिवद्ध भएको कुुरा दोहो¥याएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘यदि कसैले भ्रष्टाचार गरेको खण्डमा त्यस्तालाई निर्ममतापूर्वक कारबाही गरिने छ ।’ उनको आक्रोश मिडियाप्रति थियो । मिडियाले बेमौसमी बाजा बजाएर सरकारको आलोचना गरेकोप्रति प्रधानमन्त्री ओलीको असतुष्टि झल्किथ्यो । प्रधानमन्त्री ओलीले आफू पनि सामाजिक सञ्जालमा जोडिएका बताउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गरेको कतिपय टिप्पणीप्रति असहमति जनाए ।
मिडियाप्रति उनले यसो भनिरहँदा चीनबाट खरिद गरेर ल्याइएको सामान कम गुणस्तरको भएको र अनियमित तरिकाले खरिद गरेको कुरा मिडियाले नउठाएको भए देश थप संकटमा पर्ने कुरा भने बिर्सिए । मिडियाले स्वास्थ्य उपकरण खरिदमा भएको अनियमितता बाहिर ल्याएपछि उनी स्वयंले त्यो कुरा अनुभूति गरेर ठेक्का सम्झौता तोड्न निर्देशन दिएका थिए । र, ‘जीटुजी’मार्फत नेपाली सेनासँग स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्ने निर्देशन दिए ।
नेपाली सेनालाई खरिद गर्न दिएको निर्णय पनि विवादमा परेको छ । नेपाली सेनालाई कुनैपनि विपत्तिको बेला उद्वारमा खटाउन सकिन्छ, तर सम्पूर्ण स्वास्थ्य उपकरण खरिद गर्ने जिम्मा दिन सकिन्न । किन भने, राष्ट्र विपत्तमा पर्दा व्यापारको काममा सेना लाग्दा सेना विवादमा पर्छ भने मान्यता हो । त्यसमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेनाको खरिदमा छानविन गर्न नपाउने भएकाले सेनाभित्र भ्रष्टाचार व्याप्त छ । विगतमा सेनाभित्र ठेक्का–पट्टा र खरिदमा व्यापक भ्रष्टाचार हुने गरेकाले प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र शून्य सहनशिलताको अभ्यास गरिरहेका छन् । थापा प्रधानसेनापति भएपछि उनले पहिलोपटक आफ्नो सम्पति विवरण सार्वजनिक गरेर सेनाभित्रको पारदर्शीतालाई सबैले शिक्षाको रुपमा ग्रहण गर्नुपर्ने सन्देश सार्वजनिक गरेका थिए ।
त्यसमाथि ‘जीटुजी’ अर्थात सरकारबाट सरकारमार्फत नै कोरोनाको उपचार उपकरण खरिद गर्नुथियो भने स्वास्थ्य मन्त्रालय मातहत ‘जीटुजी’ गरेको भए सरकारको नियतमाथि कसैले शंका गर्ने थिएनन् । तर, सेनामार्फत ‘जीटुजी’ गरिनुले कतै ओम्नी गु्रपले नेपाल ल्याउन चीनको ग्वाङझाओमा थुपारेको बाँकी सामानलाई ‘जीटुजी’को माध्यमबाट भित्राउन खोजिएको त होइन भन्ने प्रश्न उठेको छ । यो प्रशंग सँगैसँगै बेइजिङबाट नेपाली राजदूत लिलामणि पौडेललाई हठात फिर्ता बोलाउनुपर्ने कारण पनि जोडिएको छ । यदि पौडेल फिर्ता नबोलाइएको भए उक्त स्वास्थ्यसम्बन्धी उपकरण चिनियाँ सरकारकै सहयोगमा नेपाल भित्रिन सक्थ्यो । तर, मेडिकल माफियाको सेटिङमा स्वास्थ्य उपकरण खरिदमा राजदूत पौडेललाई बिचमै फिर्ता बोलाइएको आरोप सरकारलाई लागेको छ ।
नेपालकै इतिहासमा राजदूत पौडेलले आफ्नो उल्लेखनीय काम गरेका छन् । उनको कामको चीन सरकारले समेत उच्च मूल्यांकन गरेको छ । यस्तो संकटको घडीमा राजदूत पौडेलले अरु थप काम गरेर देखाउने मौका पाउने थिए । तर, दूर्भाग्य राम्रो काम गर्नेहरुको मूल्यांकन नेपालको सरकारले गर्न सकेन ।
जसका कारण चीनबाट खरिद गरेर ल्याइएका स्वास्थ्य उपकरण विवादमा प्रधानामन्त्री ओली स्वयं मुछिनु परेको छ । ह्वाइट हाउस कलेजका मालिक युवराज शर्माको तीनपुस्ते विवरणसहित उक्त काण्डमा प्रधानमन्त्री ओलीलाई मिडियाले जोडेर समाचार बनाए । यो मात्र होइन, हरेक ठूला काण्डमा बालुवाटार किन मुछिन्छ ? आम नेता तथा कार्यकर्ताको चिन्ता यही नै हो ।

प्रतिक्रिया दिनुहोस्