Logo
Logo

प्राइम सहकारी पोखराको डेढ अर्ब हिनामिना


1k
Shares

पोखरा । पोखराको प्राइम सहकारीमा पनि ठुलो रकम हिनामिना भएको भेटिएको छ । सहकारी रजिस्ट्रारको कार्यालयले गरेको छानबिनपछि प्रहरीमा बुझाइएको रिपोर्टमा हिनामिना भएको औँल्याइएको हो ।

सहकारीका २ हजार ३ सय बचतकर्ताको १ अर्ब ५७ करोड भन्दा बढी रकम हिनामिना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यद्यपि विवरणहरू सार्वजनिक गरिएको छैन ।

छानबिनका क्रममा ५५ जनाभन्दा बढी दोषी देखिएका छन् । तीमध्ये केही व्यक्तिहरू पक्राउ परिसकेका छन् । ‘विशेष सूचनाका आधारमा पक्राउ गरेर मुद्दा दर्ता गरेको छ । विशेष सुराकी मार्फत हिनामिनाको थाहा पाएपछि पक्राउ परेका हुन्,’ स्रोतले भन्यो, ‘अरू पनि निगरानीमा छन् ।’

स्रोतका अनुसार यो सहकारीको रकम अपचलनमा सहकारी रजिस्ट्रार कार्यालय गण्डकी र सहकारी विभागका उच्च पदस्थ व्यक्तिहरू पनि मुछिएका छन् । सहकारीमा समस्या देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले निक्षेपकर्ताहरुलाई उजुरी दिन सूचना जारी गरेको छ ।

‘बचत फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी गरेको देखिएकोले अनुसन्धानका लागि सहकारी रजिस्ट्रारको कार्यालयबाट पत्रसाथ कागजातहरू प्राप्त भको छ,’ प्रहरीले भनेको छ, ‘उक्त पत्र दर्ता भई अनुसन्धानका क्रममा रहेकोले उक्त सहकारी संस्थामा बचतकर्ता रही बचत तथा शेयर रकम फिर्ता नपाउनुभएका पीडित व्यक्तिहरूले प्रमाणसहित सम्पर्क राख्नुहुन अनुरोध छ ।’

प्रमाण खुल्ने शेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेण्ट, मुद्दती प्रमाणपत्र लगायत प्रमाण पेस गर्न प्रहरीले आग्रह गरेको छ । जेठ २० गतेभित्र उजुरी दिन आग्रह गरिएको प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्