Logo
Logo

अमेरिका छिर्ने सपनामा ठगिँदै युवा, ५५ देखि ७० लाखसम्म असुल्छन् दलाल


630
Shares

काठमाडौं । देशमा रोजगार पाइँदैन । दिनदिनै बेरोजगारी बढ्दैछन् । यस्तो अवस्थामा अमेरिका जाने इच्छा कसलाई नहोला र ? अमेरिकाको सपनामा थुप्रै नेपाली युवाहरु ठगिएका छन् । बीचबाटोमै मृत्युवरण समेत गरेका छन् । जेल पुगेका छन् ।

zनक्कली भुटानी शरणार्थी बनेर जान खोज्नेहरुको लाखौंलाख डुबेको छ । तैपनि युवाहरुको चेत खुलेको छैन । कुनैपनि अवैधानिक बाटोबाट अमेरिका जान प्रतिबन्ध छ । यो कुरा थाहा पाउँदा पाउँदै पनि युवाहरुले अमेरिकाको सपना त्याग्न सकेका छैनन् ।

अमेरिकामा काम पाउन गाह्रो छ । पैसा कमाउन गाह्रो छ । जति पनि नेपालीहरु अमेरिकामा छन्, तिनीहरुको जीवन संघर्षमय छ । अमेरिकामा जति संघर्ष देशमै गर्न सके नेपालभन्दा राम्रो देश संसारमा अर्को छैन । ४०, ५० लाख खर्च गरेर अमेरिका जाने सोच बनाउनुभन्दा त्यो पैसा यही लगानी गरेर आफैँ मालिक बन्न पाइन्छ । त्यतातिर नेपाली युवाको सोच पुगेको छैन ।

कृष्ण चन्द र निराजन नेपाली । यो तस्बिर पीडितले उपलब्ध गराएको हो ।

विश्वकै युवाहरुको सपनाको देश पनि हो समृद्ध अमेरिका । जहाँ एकपटक पुग्ने जो–कोहीको सपना र इच्छा हुन्छ । त्यही अमेरिका छिर्ने युवाहरुको तीव्र इच्छा र सपनाका कारण दलालहरुले ठग्ने सर्वण मौका पाएका छन् ।

पछिल्लो समय अमेरिका छिराउने प्रलोभन र सपना देखाएर ठगी गर्नेहरुको गिरोह नै सक्रिय छ । ती दलालले सयौँ नेपालीलाई अमेरिका छिराउने नाममा भारत, दुवई, काजिस्तान, ब्राजिलसम्म पु¥याएर अलपत्र पारेको पाइएको छ । गैरकानुनी बाटो होस् या भिजिट भिषामै किन नहोस्, दलालहरुले ‘अमेरिका छिराइदिन्छु’ भन्दै नेपाली युवालाई प्रलोभन देखाउने र लाखौँ रकम लुट्ने गरेका छन् ।

ती दलालहरुले अमेरिका छिराइदिने नाममा सुरुमै १० देखि १५ लाख रुपैयाँसम्म एडभान्स लिने गरेका छन् । त्यसरी एडभान्स लिएपछि नेपाली युवासँग जबरजस्ती धाक–धम्की दिँदै लाखौँ असुल्ने र सम्पर्कविहीन हुने गरेका छन् । सम्पर्कमा आएपनि धम्की र यातना दिने गरेको पीडितहरुको भनाइ छ ।

ती दलालबाट ठगिएका एक नेपाली युवा दृष्टिको सम्पर्कमा आएका छन् । उनकै आग्रहमा नाम गोेप्य राखएको छ । दलालको फन्दामा परेर अमेरिका हिँडेका उनी दुवईमा तीन महिनासम्म बन्धक भएर फर्केका हुन् । उनले आफूजस्तै सयौँ नेपाली युवा दलालबाट ठगिरहेको सुनाए । अमेरिका जानलाई सुरुमै दलाललाई १५ लाख रुपैयाँ एडभान्स बुझाएका थिए । तर, ती दलालले उल्टै आफूलाई तीन महिना दुवईमै बन्धक बनाएर राखेको उनले बताए ।

उनका अनुसार अमेरिका लैजाने भन्दै रुकुमका कृष्ण चन्द, निराजन नेपाली र झापाका गोविन्द थापाले सयौँ नेपालीलाई ठग्दै आएका छन् । आफू पनि तिनै दलालबाट ठगीमा परेको बताए । ‘यिनीहरुले अमेरिका लैजान्छौँ भनेर मेरो १५ लाख रुपैयाँ खाइदिएका छन्’ उनले भने, ‘कृष्ण चन्द र निराजनको समूहले म जस्ता सयौँ नेपालीलाई अमेरिका लैजान्छौँ भन्दै प्रलोभनमा पारेर लाखौँ लिएर बाटौमै अलपत्र पारेका छन् ।’

कृष्ण चन्द, निराजन नेपाली र गोविन्द थापा नेपालीलाई अमेरिका लैजाने भन्दै ठगी गर्ने मुख्य नेपाली गिरोह भएको उनले बताए । ती पीडितका अनुसार दलालहरुले अमेरिका जमिनको बाटो भएर जाँदा ५५ लाख र हवाइमार्गमार्फत ७० लाख रुपैयाँ लाग्छ भन्दै नेपाली युवासँग पैसा उठाउने गरेका छन् । तर, त्यसरी पैसा उठाएपछि युवालाई भारत, दुवई, ब्राजिल, काजिस्तान पु¥याएर अलपत्र पार्ने गरेका छन् ।

ती दलालको फन्दामा परेका सयौँ नेपाली युवा अहिले दुवई, काजिस्तान, भारत र ब्राजिलका विभिन्न स्थानमा अलपत्र रहेको उनले बताए । दलालको पञ्जामा परेका ती युवाहरु अहिले न अमेरिका छिर्ने, न नेपाल फर्कने अवस्थामा पुगेका छन् ।

अमेरिका लैजाने नाममा ठगी गर्ने गिरोहले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सेटिङ मिलाउने गरेका छन् । ती पीडितले भने, ‘विमानस्थल, अध्यागमन, प्रहरीसँगमै सेटिङ हुँदोरहेछ । सेटिङ विना यो सम्भव नै छैन ।’ आफू पनि काठमाडौंस्थित विमानस्थलमै ती दलालको सेटिङमा दुवई पुगेको उनले बताए । दुवई पुगेको एक महिनासम्म ती दलालहरु सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको उनले सुनाए ।

उनले भने, ‘भारत, दुवई, ब्राजिल र काजिस्तान पु¥याएपछि ती दलालले धाक, धम्की र यातना दिएर पैसा असुल्ने गरेका छन् । दलालहरु एडभान्स भन्दै लाखौँ लिएर सम्पर्कविहीन हुन्छन् । र, अरुलाई फोन गर्न लगाएर धम्काउने गर्छन् । अहिले ती दलालको पञ्जामा परेका सयौँ नेपाली दुवईमा अलपत्र छन् । यस्तै, भारत, काजिस्तान र ब्राजिलमा पनि सयौँ नेपाली अलपत्र परेका छन् ।’

दलालको भाषा ‘रिच पेमेन्ट’

पछिल्लो समय ती दलालहरु ‘रिच पेमेन्ट’ भन्दै अमेरिकाको सपना देखाएर नेपाली युवालाई प्रलोभनमा पार्न थालेका छन् । ती पीडितले भने, ‘यो दलालको भाषा हो । रिच पेमेन्ट भनेको नेपालमा एक रुपैयाँ नलिने र भारत, दुवई, काजिस्तानसम्म पु¥याएपछि धम्की दिएर लाखौँ पैसा असुल्ने हो । पछिल्लो समय रिच पेमेन्टको प्रलोभनमा परेर थुप्रै नेपाली बाटोमै विभिन्न देशमा अलपत्र भएका छन् ।’

दलालहरुले दुवई, काजिस्तान लगायतका देशमा पु¥याएर पैसा असुल्ने र पासपोर्ट कब्जा गर्ने गरेका छन् । ‘ती दलालहरुले पैसा असुल्न यतिसम्म गर्छन् कि दुवई र ब्राजिल पुगेपछि ‘हामी मेक्सिको आइपुग्यौँ’ भन्न लगाएर भिडियो खिचेर घरमा पठाइदिने गरेका छन्’ उनले भने, ‘मेक्सिको पुग्यौँ भन्न लगाएपछि लाग्ने सम्पूर्ण खर्च ५५ देखि ७० लाख चाहियो भन्दै धम्काउने गर्छन् ।’

तर, दलालहरुले भन्न लगाएको जस्तो मेक्सिको पुगेको हुँदैन । पैसा उठाउका लागि उनीहरुले धम्की दिएर यस्तो भन्न लगाएको हुन्छ । जो दुवई, भारत र काजिस्तानमै हुन्छन् । उनले भने, ‘कालो कोठामा राखेर भिडियो बनाउने गरेका छन् ।’ दलालहरुले घरमा समेत फोन गरेर ‘तिम्रो मान्छे अमेरिका छिर्न लाग्यो’ भन्दै पैसा तिर्न पठाउन लगाउने गरेको उनले बताए ।

यसरी घरपरिवारसम्म नै प्रलोभनमा पारेर दलालले युवासँग आधा बाटोमा लाखौँ असुल्ने गरेका छन् । तर, अमेरिका जाने सपनासँगै लाखौँ रुपैया त्यतिखेरै डुब्न सुरु भइसकेको हुन्छ, तब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बोर्डिङ पास लिएर दुवई उडेको हुन्छ । नेपालको माटो छोड्नेवित्तिकै युवाहरु अमेरिका जाने सपनामा ठगी सकिएका हुन्छन् ।

ठाउँ ठाउँमा दलाल

दलालले ठाउँ–ठाउँमा सेटिङ गरेका हुन्छन् । काठमाडौं विमानस्थलबाटै सेटिङ सुरु भएको हुन्छ । काठमाडौं विमानस्थलमा अध्यागन कर्मचारीदेखि प्रहरीसम्म दलालको सेटिङमा हुन्छन् । सरकारले भिजिट भिषामा कडाइ गरेको छ । तर, दलाललाई त्यो नियम लागू हुँदैन । ती पीडितका अनुसार काठमाडौैं विमानस्थलका कर्मचार दलालकै कब्जामा छ । दलालको सेटिङमा भिजिट भिषामा दिनदिनै दर्जनौँ युवा दुवई उडिरहेका छन् । त्यसरी भिजिट भिषामा दुवई उडेका अधिकांश सपना अमेरिका हुन्छ । जुन विमानस्थल अध्यामगका कर्मचारीलाई पनि थाहा हुन्छ । तर, दलालसँग मिलेर अध्यागनका कर्मचारीले दुवईको भिसिट भिषामा सहजै उड्न दिइरहेका छन् ।

दैनिक दर्जनौँ नेपाली युवा दलालको प्रलोभनमा परी अमेरिकाको सपनासहित भिजिट भिषामा दुवई उडिरहेका छन् । त्यो अन्तर्राष्ट्रिय विमानमा प्रत्यक्ष देख्न सकिन्छ । सेटिङ नमिल्दा मात्र अध्यागमनले फर्काउने गरेको छ ।

ती पीडितले भने, ‘दुवई उड्ने बेलामा विमानस्थलसम्म दलाल आफैं पुगेको हुन्छ । दलालहरु ठाउँ–ठाउँमा हुँदारहेछन् ।’ उनका अनुसार नेपालीलाई अमेरिका उडाउने नेपाली दलालहरु भारतीय दलालसँग मिलेको हुन्छ । भारतीय र नेपाली दलालले विभिन्न देशमा सञ्जाल फैलाएका छन् ।

दलालहरुले जमिनको मार्गबाट जानका लागि प्रत्येक देशको बोर्डरमा सेटिङ गरेका हुन्छन् । ‘सेटिङ नमिलेको स्थानमा रातारात हिँड्नुपर्छ’ ती पीडितले भने, ‘बीच बाटोमा पुगेपछि न फर्कनु, न उता जानु अवस्था हुन्छ ।’ त्यसबाहेक दलालले पैसा असुल्न दवाब र यातना समेत दिइरहेको हुन्छ ।

अधिकांश दलालहरु भारत र दवईमा बसेर नेपाली युवालाई अमेरिकाको प्रलोभन देखाएर लाखौँ ठगी गर्दै आएका छन् । अमेरिकाको प्रलोभन र सपना देखाएर ती दलालले नेपाली युवाबाट दैनिक लाखौँ रुपैयाँ असुली रहेका छन् । तर, यस विषयमा सरकारले चासो देखाएको पाइँदैन ।

गैरकानुनीरुपमा नेपालीलाई अमेरिका पाठउने नाममा ठगी गर्ने दलालहरुलाई सरकारले कारबाही गर्नुपर्ने ती पीडितको माग छ । मानव तस्करी तथा बेचबिखन ती दलालविरुद्ध मुद्धा हाल्ने तयारीमा रहेका उनले ‘दैनिक सयौँ नेपाली ठगिँदासमेत सरकारले वास्ता गरेको छैन । त्यसरी नेपाली युवाबाट ठगिएको पैसा विदेश गइरहेको हुन्छ । त्यसैले पनि सरकारले यस्ता गैरकानुनी कार्य गर्ने मानव तस्कर दलाल र ठगहरुलाई कारबाही गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्