Logo
Logo
दस्ताबेज

एकीकृत समाजवादीको दृष्टिकोणमा कुन पार्टी कस्तो ?


माधवकुमार नेपाल, अध्यक्ष, नेकपा एकीकृत समाजवादी

441
Shares

नेकपा एकीकृत समाजवादी महाधिवेशनको तयारीमा छ । आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा पार्टीको महाधिवेशन हुँदै छ । एकीकृत समाजवादीले महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजको मस्यौदामाथि घनिभूत छलफल थालेको छ ।

स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठकमा दस्ताबेजहरू माथि छलफल हुँदै छ । त्यसपछि तल्ला कमिटीमा अध्ययनका लागि दस्ताबेजहरू पठाइने छ । देशभरबाट आएका सुझावको आधारमा दस्ताबेजहरूलाई परिमार्जन गरी महाधिवेशनमा प्रस्तुत गर्ने एकीकृत समाजवादीको तयारी छ ।

अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले संगठनात्मक प्रतिवेदन र उपाध्यक्ष डा. वेदुराम भुसालले विधानसम्बन्धी मस्यौदा प्रतिवेदन तयार पारेर छलफलका लागि प्रस्तुत गर्नुभएको छ ।

सत्तारुढ दल एकीकृत समाजवादीले विकसित राजनीतिक घटनाक्रमलाई कसरी लिएको छ ? अन्य राजनीतिक दलहरूलाई एकीकृत समाजवादीले कसरी हेर्छ भन्ने आम चासो छ । अध्यक्ष माधवकुमार नेपालले तयार पारेको राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र)सहित संसदमा प्रतिनिधित्व गर्ने र विप्लव नेकपा, नेकपा (माले), क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत संसद् बाहिरका दलहरूबारे पनि चित्रण गरिएको छ ।

राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले नेपाली कांग्रेसलाई नवउदारवादको पक्षपोषकका रूपमा चित्रित गर्नुभएको छ । केही हदसम्म दलाल पुँजीपति वर्गको समेत प्रतिनिधित्व गर्ने दलका रूपमा कांग्रेसको विश्लेषण गर्नुभएको छ ।

नेकपा (एमाले)लाई नेपालले ‘दक्षिणपन्थी अवसरवादी चरित्र’को कम्युनिस्ट पार्टीको संज्ञा दिनुभएको छ । एमाले वर्ग अडानमा स्पष्ट नभएको, दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी अवसरवादमा डुब्दै गएको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष नेपालले दस्ताबेजमा माओवादी केन्द्रलाई नीतिगत अस्थिरताको परिचय बनाएको पार्टीको संज्ञा दिनुभएको छ । नेकपा विभाजनपछि सैद्धान्तिक अन्योलमा माओवादी केन्द्र फसेको नेपालको विश्लेषण छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पुँजीपति वर्ग चरित्रको भए पनि दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट नभएको अध्यक्ष नेपालले औँल्याउनुभएको छ । संविधान, गणतन्त्र र संघीयताप्रति रास्वपाको दृष्टिकोण स्पष्ट नभएको र उक्त पार्टीले मध्य दक्षिणपन्थीको रूपमा प्रस्तुत गर्ने गरेको दस्ताबेजमा उल्लेख छ ।

रास्वपाले सस्तो लोकप्रियतावादमार्फत सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्ने गरेको दाबी गर्नुभएको छ । जसपा, नेकपा विप्लवप्रति राजनीतिक प्रतिवेदन सकारात्मक छ भने मालेलाई दक्षिणपन्थी रुझान राख्ने पार्टी र राप्रपालाई सामन्ती तथा दलाल नोकरशाही पुँजीपति वर्गको पार्टीको रुपमा चित्रित गरिएको छ ।

नेपाली कांग्रेस नवउदारवादको पक्षपोषक
अहिले प्रतिनिधि सभामा ८८ सिटसहित सबैभन्दा ठूलो दलको रूपमा रहेको नेपाली कांग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी हो । नवउदारवादको पक्षपोषण गर्ने यस पार्टीले केही हदसम्म दलाल पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ । प्रजातान्त्रिक समाजवादको वकालत गर्ने र लोकतन्त्र प्राप्तिको संघर्षमा सकारात्मक भूमिका निर्वाह गरेको यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको छ ।

नेकपा (एमाले)ले संविधान र लोकतन्त्रलाई मास्न बेर लाउँदैन
प्रतिनिधि सभामा ७८ सिट भएको दोस्रो ठूलो दल नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी हो । यसको वर्ग अडान स्पष्ट छैन । दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी अवसरवादमा डुब्दै गएको छ ।

व्यक्तिवादलाई विचार तथा संगठनको आधार बनाएको हुँदा यसको आन्तरिक सामूहिक जीवन तहसनहस भएको छ र त्यसको बाह्य अभिव्यक्तिका रूपमा मुलुकको लोकतान्त्रिक प्रक्रियाका विरुद्धसमेत खडा हुने गरेको छ । विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ ।

नेकपा माओवादी केन्द्रसँग मित्रतापूर्ण सम्बन्ध
प्रतिनिधि सभामा ३२ सिटसहित तेस्रो ठूलो दलका रूपमा रहेको नेकपा (माओवादी केन्द्र) सशस्त्र द्वन्द्वको सञ्चालनदेखि शान्ति प्रक्रिया हुँदै अहिलेसम्म आउँदा एउटा असाधारण तीव्र रूपान्तरणको प्रक्रियाबाट गुज्रिएको छ । नीतिगत अस्थिरता यस पार्टीको परिचयजस्तो बनेको छ । नेकपाको विभाजनपछि फेरि माओवादी सैद्धान्तिक दिशा अँगालेको हुँदा स्वयं सैद्धान्तिक अन्योलमा फसेको छ ।

तर, आजका राजनीतिक उपलब्धिको रक्षाका लागि तत्पर रहेको हुँदा यस पार्टीसँग हाम्रो पार्टीको मित्रतापूर्ण सम्बन्ध छ । यसका कैयन् कार्यशैलीगत कमजोरीको मित्रवत् आलोचना गर्दै तिनलाई हटाउन जोड दिनुपर्छ ।

रास्वपा जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्ने पार्टी
प्रतिनिधि सभामा २१ सिटका साथ चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पुँजीपति वर्ग चरित्रको पार्टी हो । यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन । संविधान, गणतन्त्र र संघीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन ।

यसले आफूलाई मध्य दक्षिणपन्थीको रूपमा प्रस्तुत गर्ने गरेको छ । त्यसैबाट स्पष्ट हुन्छ कि यस पार्टीले वामपन्थी होइन कि दक्षिणपन्थी अडान राख्दछ । यो पार्टी प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो । सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्ने गर्दछ । यस पार्टीले पनि त्यही भूमिका निर्वाह गर्दै आएको छ ।

राप्रपा सामन्ती तथा दलाल नोकरशाही पुँजीपति
प्रतिनिधि सभामा १४ सिटका साथ पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सामन्ती तथा दलाल नोकरशाही पुँजीपति वर्ग चरित्रको पार्टी हो । यो पार्टीले समाजमा अवशेषको रूपमा रहेको सामन्ती पछौटे एवम् लम्पट चिन्तनको प्रतिनिधित्व गर्दछ । यो पार्टी संविधान, गणतन्त्र र संघीयता विरोधी पार्टी हो । यसले जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्रलाई पुनःस्थापना गर्न चाहन्छ र राज्यलाई धर्मसँग जोडेर मुलुकलाई हिन्दू राष्ट्रमा परिणत गर्न चाहन्छ ।

जसपा प्रगतिशील एजेन्डाप्रति सकारात्मक
प्रतिनिधि सभामा १२ सिटका साथ छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टी प्रजातान्त्रिक समाजवादी सिद्धान्त आँगालेको पार्टी हो । मुख्यतः मधेस प्रदेशमा प्रभाव राख्ने यस पार्टीले मधेसको उदार मध्यम वर्गीय तप्काको प्रतिनिधित्व गर्दछ र कैयन् प्रगतिशील एजेन्डाप्रति सकारात्मक धारणा राख्दछ । यो पार्टी संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध रहेको छ ।

जनमत पार्टीले पृथकतावादी सोच त्याग्यो
प्रतिनिधि सभामा ५ सिटका साथ आठौँ स्थानमा रहेको जनमत पार्टी विगतमा मधेसलाई नेपाली उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राज्य बनाउनु पर्दछ भन्ने पृथकतावादी सोच अँगालेर आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेको पार्टी हो । तर, अहिले संविधान मान्ने र त्यस अन्तर्गत रहेर राजनीति गर्ने गरी अगाडि बढेको छ । यो पार्टी गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध रहेको छ ।

लोसपा बुर्जुवा चरित्रको पार्टी
प्रतिनिधि सभामा ४ सिटका साथ नवौँ स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी बुर्जुवा चरित्रको पार्टी हो । मुख्यगरी मधेस प्रदेशमा केन्द्रित रहेको र मधेसका मुद्दामा नै बढी चासो राख्ने यो पार्टीले पनि मधेसको उदार मध्यम वर्गीय तप्काको प्रतिनिधित्व गर्दछ । यो पार्टी गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीको वर्ग चरित्र स्पष्ट छैन
प्रतिनिधि सभामा ४ सिटका साथ १०औँ स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टी जातीय पहिचान र अधिकारमा जोड दिने पार्टी हो । यो पार्टी थारु जातिको पहिचान र अधिकारलाई मुख्य विषय बनाएर संगठित एवम् क्रियाशील छ । यसको वर्ग चरित्र स्पष्ट छैन । गणतन्त्र र संघीयताप्रति भने प्रतिबद्ध नै रहेको छ ।

नेमकिपा जडसूत्रवादी र संकीर्ण
प्रतिनिधि सभामा १ सिटका साथ ११औँ स्थानमा रहेको नेपाल मजदुर किसान पार्टी जडसूत्रवादी एवम् अत्यन्त संकीर्ण चरित्रको कम्युनिस्ट पार्टी हो । यो पार्टी मूलतः श्रमजीवी वर्गको पक्षमा उभिन्छ । तर, नेतृत्वमा रहेको निम्न मध्यम वर्गीय जडता र संकीर्णताले गर्दा निरन्तर खुम्चिँदै गएको छ । भक्तपुर जिल्लामा सीमित यो पार्टी संविधान र गणतन्त्रप्रति प्रतिबद्ध नै छ ।

जनमोर्चाको चरित्र वामपन्थी
प्रतिनिधि सभामा १ सिटका साथ १२औँ स्थानमा रहेको राष्ट्रिय जनमोर्चा नेकपा (मसाल) को खुला राजनीतिक संगठन हो । वामपन्थी चरित्रको यो पार्टी संविधान र गणतन्त्रप्रति प्रतिबद्ध छ । तर, यो संघीयताको विरोधी पार्टी हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी जडसूत्रवादीको सिकार
नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा (माओवादी) बाट विभाजित भएर बनेको नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव समूहबाट विभाजित भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मिलेर बनेको कम्युनिस्ट पार्टी हो । यो पार्टी जडसूत्रवादी चिन्तन र अव्यवहारिक कार्यनीतिको सिकार भएको छ । यसले देशभक्त गणतान्त्रिक मोर्चामार्फत खुला राजनीति गर्ने र चुनाव लड्ने गरेको छ । तर, जनताको मत प्राप्त गरेर विजयी हुन सकेको छैन । यो पार्टी गणतन्त्र, संघीयता र समाजवादप्रति प्रतिबद्ध रहेको छ ।

नेकपा विप्लव शान्तिपूर्ण राजनीतिको बाटोमा
नेपाल कम्युनिस्ट पार्टी (विप्लव) नेकपा (माओवादी) बाट विभाजित भएर बनेको नेकपा (क्रान्तिकारी माओवादी) बाट पुनः विभाजित भएर बनेको कम्युनिस्ट पार्टी हो । वर्तमान संविधान अस्वीकार गरी विद्रोहको नीति लिएको र चुनाव बहिष्कार गरेको यो पार्टी अहिले संविधान मानेर शान्तिपूर्ण राजनीति गर्ने बाटोमा आएको छ । र, हाम्रो पार्टीसमेत सामेल रहेको समाजवादी मोर्चामा पनि रहेको छ । यो पार्टी गणतन्त्र, संघीयता र समाजवादप्रति प्रतिबद्ध रहेको छ ।

नेकपा मालेमा दक्षिणपन्थी रुझान
नेकपा (माले) २०५४ सालमा नेकपा (एमाले) बाट विभाजित भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (माले) नेकपा (एमाले) मा पुनः एकीकृत हुँदा असहमत भएर रहेको सानो समूह हो । यस पार्टीको नेतृत्वमा दक्षिणपन्थी रुझान र व्यक्तिवादी कार्यशैली छ भनेर आलोचना हुने गरेको छ । यसले निर्वाचनमा भाग लिने गरेको छ । तर, अहिले संसदमा उपस्थित छैन ।

प्रतिक्रिया दिनुहोस्