Logo
Logo

पाँच वर्षमा बेरोजगारी दर ५ प्रतिशतमा झारिने


189
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगले बेरोजगारी दर ह्वात्तै घटाउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ । गत आर्थिक वर्ष २०७९/८० मा बेरोजगारी दर ११.४ प्रतिशत रहेकामा १६औँ पञ्चवर्षीय योजनाले ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको हो ।

त्यसैगरी श्रम उत्पादकत्व गत आवमा २ लाख ४५ हजार रहेकामा २ लाख ७५ हजार पुर्याइने लक्ष्य छ । सडक घनत्व गत आवमा ०.६३ किमि प्रतिवर्ग किमि रहेकामा ०७७ किमि प्रतिव.कि.मि. पुर्याइने लक्ष्य राखिएको छ ।

यता विद्युत् उत्पादन (जलविद्युत तथा वैकल्पिक ऊर्जा जडित क्षमता) गत आवसम्म २ हजार ९ सय ६२ मेगावाट रहेकामा त्यसलाई ११ हजार ७ सय ६९ मेगावाट पुर्याउने लक्ष्य छ ।

योजना आयोगका अनुसार प्रतिव्यक्ति विद्युत् उपभोग गत आर्थि वर्षमा ३८० किलोवाट घण्टा रहेकामा अब ७ सय किलोवाट घण्टा पुर्याउने लक्ष्य छ । गत आर्थिक वर्षसम्म ९६.७ प्रतिशत जनसंख्यामा पुगेको विद्युत् पहुँच आगामी ५ वर्षमा शतप्रतिशत पुर्याउने लक्ष्य छ ।

त्यसैगरी गत आवसम्म ६९.२ प्रतिशत जनसंख्यामा पुगेको इन्टरनेट पहुँचलाई पनि ९० प्रतिशतमा पुर्याउने लक्ष्य राखिएको छ ।
१६औँ योजनाले गत आर्थिक वर्षसम्म ३.३ मेट्रिक टन रहेको प्रतिहेक्टर कषि वस्तुको औसत उत्पादकत्व (प्रमुख बाली)लाई ३.७ मे.ट. प्रतिहेक्टर पुर्याउने लक्ष्य राखेको छ ।

यता बैंक तथा वित्तीय संस्थामा पहुँच पुगेको परिवार ६३ प्रतिशत रहेकामा त्यसलाई आगामी ५ वर्षमा ८५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको योजना आयोगले पत्रकार सम्मलेन गरेर जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्