Logo
Logo

रविको पक्षमा सधैँ किन उभिन्छन् ओली ?


1.6k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएकाले उनीमाथि संसदीय छानबिन समिति बनाएर छानिबन गर्नुपर्ने माग राख्दै आएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेलाई बुटवलको सुप्रिम सहकारी र पोखराको सूर्यदर्शन सहकारी बाट गैरकानुनी रूपमा ऋण लिएर अपचलन गरेको आरोप लागेको छ । 

सोही विषयलाई लिएर काँग्रेसले संसदीय छानबिन समिति बनाएर गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ । सोही विषयलाई लिएर काँग्रेसले हिउँदे अधिवेशनमा बारम्बार संसद् बैठक अवरुद्ध गर्‍यो । 

गृहमन्त्रीमाथि छानबिन गर्ने समिति गठनको माग राख्दै काँग्रेसले निरन्तर संसद् अवरुद्ध गरेपछि सरकारले वैशाख २ गते हिउँदे अधिवेशन अन्त्य गर्‍यो । यही वैशाख २८ देखि सुरु हुने बजेट अधिवेशनमा पनि काँग्रेसले त्यसैलाई निरन्तरता दिने तयारी गरेको छ  । यद्यपि, कांग्रेसले सरकारको नीति तथा कार्यक्रम भने संसदमा प्रस्तुत गर्ने दिएको छ । 

मंलरबार संघीय संसद्को संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारकोतर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तर, त्यसलगत्तै कांग्रेसले दुवै सदन अवरुद्ध गर्‍यो । सरकारले राष्ट्रपतिलाई धन्यवाद समेत दिन पाएन । 

कांग्रेसले सहकारीको विषयलाई लिएर निरन्तर संसद् अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय समिति बनाउन लचक भएका छन् । तर, एमाले भने कुनै पनि  हालतमा संसदीय समिति नबनाउने पक्षमा छ । 

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सधैँ गृहमन्त्री लामिछानेको साथमा उभिँदै आएका छन् । आज (बुधबार) पनि ओलीले गृहमन्त्री लामिछानेको बचाउ मात्रै गरेनन्, अब कांग्रेसलाई नै बोल्न नदिने बताए  । 

संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले भने, ‘कांग्रेस बोल्दा हामीले सुन्नुपर्ने, हामीले बोल्दा कांग्रेस कराउने ? कहाँ हुन्छ त्यो ? कांग्रेसलाई बोल्न दिइँदैन अब, पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ । होइन भने हामी बोल्छौँ । कांग्रेसले बकवास गरिरहने अनि हामीले सुनिरहनुपर्ने हुँदैन। हामी चुप लागेर बसेका छौँ भनेर हाम्रो बोली छैन भन्ने कांग्रेसले नबुझे हुन्छ ।’

उनले संसद् बिहीबारबाट सुचारु हुनुपर्ने बताए । ‘सरकार खुस्कियो भनेर रविलाई चिथोर्ने ? कांग्रेसले घरबाट ल्याएको संसद् हो र यो जतिबेला मन लाग्यो त्यतिबेला रोक्ने ? कांग्रेसले पाखुरा देखाएका भरमा हामी लत्रिदिनुपर्ने ?’ ओलीले भने, ‘कांग्रेसको सनकका पछाडि कुनै समिति बनाइरहनु जरुरी पनि छैन । कांग्रेसले रोकेर संसद् अब रोकिरहनु पर्ने आवश्यक छैन ।’

यसअघि मंगलबारको शीर्ष नेताहरूको छलफलमा पनि एमालेले व्यक्ति लक्षित छानबिन समिति बनाउने विषय स्वीकार्य नहुने भन्दै गृहमन्त्री लामिछानेको बचाउ गरेको थियो । ओलीले सहकारीको रकम हिनामिनाको विषयमा गृहमन्त्री लामिछानेलाई बोल्न नदिने कस्तो लोकतन्त्र ? भन्दै प्रश्न गरेका थिए । 

त्यसो त हिउँदे अधिवेशनमा पनि ओली गृहमन्त्री लामिछानेकै पक्षमा उभिने गरेका थिए । त्यसबेला पनि उनले गृहमन्त्री लामिछानेमाथि छानबिन नै आवश्यक नरहेको बताएका थिए । 

ओलीको सुरुदेखि नै लामिछानेलाई साथ दिँदै आएका छन् । नागरिकता विवाद प्रकरणमा पनि ओलीले उनलाई साथ दिएका थिए । प्रधानमन्त्री प्रचण्ड फैसलाको पूर्ण पाठ नआउँदासम्म रविलाई गृहमन्त्री बनाउन नसकिने भन्दै आएका थिए । तर, ओली भने रविलाई गृहमै फर्काउनुपर्छ भन्दै प्रचण्डलाई दबाब दिने गरेका थिए । 

राजनीतिमा आउनु अगाडि नै रविले ओलीसँग राम्रो सम्बन्ध बनाएका थिए । ओलीसँग व्यक्तिगत रूपमा राम्रो सम्बन्ध बनाएका रविले ओली २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री भएपछि ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाएका थिए । 

२०७३ साउनमा प्रचण्ड दोस्रोपल्ट प्रधानमन्त्री बनेसँगै यो कार्यक्रमबाट रविलाई हटाइएको थियो । त्यसपछि ओली र रवि झनै नजिकका थिए । त्यसपछि उनले न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ कार्यक्रम चलाएका थिए । उक्त कार्यक्रम अत्यन्तै लोकप्रिय भयो र यही कार्यक्रमबाट कमाएको ख्यातीलाई रविले राजनीतिक शक्तिमा बदलेका हुन् । 

हुन त रविले ओलीलाई अमेरिका हुँदा नै भेटेका थिए । अमेरिकामा पनि रविले नेपालीले चलाएको ह्वाइट हिमाल टेलिभिजनमा कार्यक्रम चलाउँथेँ । ओली अमेरिका गएको समयमा रविले उनको अन्तर्वार्ता लिएका थिए । त्यहीबाट ओली र रविको चिनजान भएको बताइन्छ । त्यसबेला देखिको ओली र रविको सम्बन्ध अझै सुमधुर नै रहेको छ । 

प्रतिक्रिया दिनुहोस्