Logo
Logo

यी क्षेत्रमा केही दिनमै भूमिगत विद्युत प्रणाली सञ्चालनमा ल्याउँदै प्राधिकरण


567
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले केही दिनमै काठमाडौंका विभिन्न ठाउँका जडान गरेका भूमिगत विद्युत प्रणाली सञ्चालनमा ल्याउने जनाएको छ ।

काठमाडौंका पेप्सीकोला–जडीबुटी, लैनचौर नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलंकी–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत विद्युत जडान भइसकेकाले परीक्षणको तयारी थालेको प्राधिकरणले जनाएको हो ।

उक्त भूमिगत विद्युत प्रणाली योजना पूरा भइसकेका उल्लेखित ठाउँका बिजुली पोलमा जडान भएका सडक बत्ती, अप्टिकल फाइबर, इन्टरनेट केबल, सीसीक्यामेरालगायत संरचना र उपकरण ६ महिनाभित्र हटाउन प्राधिकरणले सूचना जारी गरेको छ ।
प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको स्थानमा पोल विस्तारै हटाउँदै जाने योजना रहेकाले त्यसमा जडान गरिएका उपकरण र संरचना हटाउन भनेको छ ।

सूचनामा भनिएको छ, ‘संरचना एवं उपकरणहरु नहटाएमा प्राधिकरणले पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति नेपाल विद्युत प्राधिकरण जिम्मेवारी नहुने व्यहोरोसमेत जानकारी गराइन्छ ।’ प्राधिकरणले यसअघि नै रत्नपार्क, चाबहिल क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत वितरण सुरु गरिसकेको छ । तर, ती ठाउँका बिजुलीका पोल अझै हटाइएको छैन ।

प्राधिकरणले ०७६ सालदेखि काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम सुरु गरेको थियो । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ फागुन ५ गते महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको उद्घाटन गरेका थिए ।

भूमिगत विद्युत प्रणाली योजना अहिले काठमाडौं उपत्यकासहित पोखरा र भरतपुरमा पनि चलिरहेको छ । सबै ठाउँमा काम करिब अन्तिम चरणमा पुगिसकेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्