Logo
Logo

गिरीबन्धु टि-इस्टेटबारे निर्णय एमालेको पालामा भएको हो : देउवा


441
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री कांग्रेस नेतृत्वको सरकारको पालामा नभएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले नेकपा एमालेको सरकारका पालामा गिरीबन्धुबारे निर्णय भएको बताएका हुन् ।

सभापति देउवाले भने, ‘ओलीजीले बोलेको भनेर बाहिर आएको छ । अदालतले फैसला गरेपछि गिरीबन्धु टि–इस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर । आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि !’

उनले ओली जस्ता नेताले झुट बोल्न नसुहाउँने बताउँदै भने, ‘आफूले गरेको कुरालाई गरेको हो भन्न के आपत्ति छ । अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ ।’ त्यसबेला गिरिजाप्रसाद कोइराला र आफू प्रधानमन्त्री बनेको भन्दै गिरीबन्धुबारे केही निर्णय नभएको उनले बताए ।

देउवाले भने, ‘ओलीजीले यस्तो कुरा बोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो ।’ एमाले संसदीय दलको बुधबारको बैठकमा ओलीले गिरीबन्धु टि–इस्टेटका सन्दर्भमा अदालतको आदेशअनुसार कानुन बनाउँदा कसरी अपरिपक्व भयो भनेर टिप्पणी गरेका थिए ।

‘नेपाली कांग्रेसले एकपल्ट ५१औं बिघा, एकपल्ट १९ बिघा कमिसन खाएर बिक्री गर्न दिएको छ जमिन, त्यही गिरिबन्धु टि– इस्टेटको । पछि अदालतले नियम बनाउनु, ऐन बनाउनु, ऐन बनाएरमात्रै यस्ता कामहरू अघि बढाउनु भनेपछि अदालतको आदेश बमोजिम ऐन बनाएका हौं’ ओलीले भनेका थिए, ‘त्यसको कार्यान्वयन भएको छैन । त्यो नियममा विभिन्न शर्तहरू राखिएको छ । ती शर्तहरू पूरा भएर यो ठाउँको जग्गा यो ठाउँमा किन्ने, यो ठाउँमा सट्टापट्टा, यो ठाउँको जमिन बिक्ने, यो कित्ताको भनिएको पनि छैन । अदालतले अहिले पनि फैसला गर्दा हदभन्दा बढीको यो जग्गा दिन पाइँदैन भन्नुप¥यो नि !’

प्रतिक्रिया दिनुहोस्