Logo
Logo

कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल


252
Shares

झापा । जिल्लास्थित झापा गाउँपालिकाले बीचमै पढाइ छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई निःशुल्क साइकल वितरण गर्दै आएको छ ।

पढ्न प्रोत्साहन गर्ने उद्देश्यले विसं २०७५ देखि वर्षैँपिच्छे कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई साइकल वितरण गरिँदै आइएको हो ।

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुकुमारी थपलियाले छ वर्षको अवधिमा एक हजार भन्दाबढी विद्यार्थीले पालिकाबाट अनुदानको साइकल पाएका जानकारी दिए । उनका अनुसार पालिकाभित्र पाँच वटा माध्यमिक विद्यालय छन् । यस वर्ष तीन सय ५३ वटा साइकल वितरण गरिएको पालिकाले जनाएको छ ।

जनता माविमा १३१, डिल्लीराज माविमा १३५, जनकल्याण माविमा ३५, कुवाडीदेवी माविमा २८ र महेन्द्र माविमा २४ वटा साइकल वितरण गरिएको कार्यवाहक अध्यक्ष थपलियाले जानकारी दिए ।

‘गाउँमा टाढाबाट पैदल विद्यालय आउनेले कक्षा ९ र १० मा पुगेपछि पढाइ बीचमा छाड्ने गरेको पाइएपछि साइकल बाड्ने कार्यक्रम ल्याएका हौँ’, उनले भने, ‘साइकल पाएपछि उनीहरुले पढाइ छाडेका छैनन् । पढाइप्रति थप आकर्षण बढेको पाइएको छ ।’

विसं २०७५ मा पालिकाले पहिलोपटक कक्षा नौ का छात्रालाई मात्र साइकल वितरण गरेको थियो । छात्राहरुले विद्यालय तहको शिक्षा अधुरो नछाडुन् भन्नका लागि प्रोत्साहन स्वरुप सुरु गरिएको साइकल वितरण कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउँदै आएको छ ।

आदिवासी, मुस्लिम र अतिविपन्न परिवारको बाहुल्य रहेको यस पालिकामा ‘साइकल वितरण कार्यक्रम’ प्रभावकारी बनेको छ ।

‘शिक्षामा सबैको सहज पहुँच पुर्याउने यो कार्यक्रमको उद्देश्य हो’, पालिकाकी कार्यवाहक अध्यक्ष थपलियाले भने, ‘बिहान १० बजे विद्यालय लाग्छ । साइकल वितरण गर्न थाल्नुअघि केही विद्यार्थी १२ बजेसम्म विद्यालयमा आइरहन्थे । हिँडेर आउँदा ढिलो भएको बताउँथे । अहिले सबैले साइकल पाएका छन् । नियमित र समयमै विद्यालय आइपुग्छन् ।’

उनले पालिकामा बीचैमा विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा पनि न्यूनीकरण भएको जानकारी दिए ।

आर्थिक वर्ष २०८०÷८१ मा पािलकाले बजेटमा नै साइकल वितरणका लागि रु २९ लाख बजेट विनियोजन गरेको थियो । बोलपत्र आह्वानको पारदर्शी प्रक्रियाबाट साइकल खरिद गरिएको कार्यवाहक अध्यक्ष थपलियाले जानकारी दिए ।

उनका अनुसार पालिकाले शिक्षामा सुधार ल्याउने उद्देश्यले कक्षा ८ देखि १० सम्मका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क ‘कोचिङ’को व्यवस्था, कक्षा १२ सम्म निःशुल्क शिक्षा र अन्य पालिकामा गएर प्राविधिक शिक्षा लिने विद्यार्थीलाई वार्षिक रु १२ हजारका दरले छात्रवृत्ति वितरण गर्दै आएको छ ।

साइकल पाएका विद्यार्थीले पढाइप्रति आफ्नो र अभिभावक दुवैको लगाव बढाएको बताएका छन् । जनता माविमा कक्षा ९ मा अध्ययनरत किस्कु सन्थालले विद्यालयले दिएको साइकल चढेर पाँच किलोमिटर टाढाको घरबाट विद्यालय धाउन सुविधा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्