
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीति समीक्षा अनुसार बैंकले घर जग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानी अनुपातमा लचिलो नीति लिएको छ ।
यो व्यवस्था लागू भएपछि ऋण लिएर घरजग्गा खरिद गर्नेले आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन् । यसअघि आम्दानीको ५० प्रतिशतसम्म मात्रै त्यसरी भुक्तानी गर्न पाइने व्यवस्था थियो । त्यस्तै बैंकले हायर पर्चेजअन्तर्गत सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरिने जनाएको छ ।
‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ । यसले सवारीसाधनमा कर्जा प्रवाह गर्न बैंकहरूलाई प्रोत्साहन मिल्नेछ ।














