Logo
Logo

ललितपुर खोकना चोरी घटनामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ


441
Shares

काठमाडौं । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत ७ वैशाखदेखि ९ गतेको बिचमा नवराज गुरुङको घरमा कोही पनि नभएको समयमा सुन-चाँदीका गरगहनाहरू तथा आईफोन लगायतका धनमाल चोरी भएको थियो । उनीहरुलाई चोरी भएको सामानसहित पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चोरीमा संलग्न रहेका रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर महानगरपालिका–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगरलाई पक्राउ गरेको हो ।
कार्यालयको टोलीले कमललाई जेठ ३ गते रामेछापको दोरम्बा गाउँपालिका–४ र धनलाललाई भैँसेपाटीबाट चोरीका सामानसहित पक्राउ गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

यसबारे थप अनुसन्धान गर्दा जाँदा चोरी भएका धनमाल खरिद गर्ने सिन्धुपाल्चोक घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने २८ वर्षीय सुवास सुनार र कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीमा सुनचाँदी पसल सञ्चालन गरी बस्ने ४१ वर्षीय रमेश विकलाई पनि प्रहरी पक्राउ गरेकोप्रहरीले जनाएको छ ।

यसको साथै चोरी गरेको आईफोन किनबेच गर्ने ताम्राकार कम्प्लेक्स स्थित सेल फोन रेस्क्यू सेन्टरका सञ्चालक ४१ वर्षीय योगेश डाँगी र २२ वर्षीय मोहम्मद समीरलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

उनीहरूलाई बरामद गरिएको सामानहरूसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्