Logo
Logo

विवेक पुगेन कि सरकार ?


अच्युतकृष्ण खरेल

693
Shares

  • अच्युतकृष्ण खरेल

गएको साता महाकाली नदी तरेर नेपाल प्रवेश गरेका एक जना युवकलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीबलका सुरक्षाकर्मी खटिएका थिए । भारतबाट आएका ती युवालाई नेपाल प्रवेश गर्न नदिएपछि ती युवा ज्यान जोखिममा राखेर नेपाल प्रवेश गरेका थिए । ती युवालाई कोरोना संक्रमण देखिएपछि उनलाई नियन्त्रणमा लिन खटिएका ९४ जना सशस्त्र प्रहरीलाई पनि ‘क्वारेन्टाइन’मा राखिएको समाचार आएको छ ।
यो समाचार सुनेपछि मलाई रातभर निन्द्रा लागेन । ३१ वर्ष प्रहरी सेवामा जागीर खाँदा मैले अनेकन जोखिम मोलेपनि कोरोनाजस्तो संक्रमणको जोखिम मोल्नु पर्ला भनेर सोचेको थिइनँ ।
हुन त नेपाल प्रहरीले योभन्दा धेरै जोखिम मोलेर काम गरेको अनुभव मलाई छ । तर, ‘कोरोना भाइरस’जस्तो अज्ञात रोगसँग पनि एक दिन प्रहरी जुध्नुपर्ला भन्ने कुरा मैले सोचेको पनि थिएन । मैले मात्र होइन, आज कसैले पनि नसोचेको कुरा विश्वले भोग्दैछ । सिंगो विश्व कोरोना संक्रमणको डरले त्राहीमाम भएका छन् । यसबाट नेपाल पनि अछुत्तो छैन । नेपाल–भारत खुला सीमा भएको कारण नेपाल खतरामुक्त छैन । सीमा नियमन गर्ने काममा पनि सुरक्षाकर्मीहरु अहोरात्र खटिएका छन् ।
ती सुरक्षाकर्मीलाई मेरो हार्दिक नमन छ । किनभने, भूकम्प, बाढी पहिरोलगायतका विपत्तिमा सुरक्षाकर्मीहरुले घटना भइसकेपछि उद्वारको काममा श्रेष्ठता हासिल गरेपनि यो कोरोनाजस्तो डरलाग्दो रोगको सामना कहिले पनि गरेका थिएनन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि कोरोना रोकथाम जीवनकै पहिलो अनुभव हो । यस कार्यमा सुरक्षाकर्मीहरु सफल पनि बन्दै गएका छन् ।
दिनरात परिवार, छोराछोरी, साथीभाई केही नभनि यतिबेला सुरक्षाकर्मीहरु नेपाली जनताको ज्यान जोगाउन गाउँ–गाउँ, बस्ती–बस्ती पुगिरहेका छन् जबकि, निजामति कर्मचारी, उद्योगी, व्यापारीलगायत सबै नागरिक घरमै बसेर ‘लकडाउन’लाई सघाइरहेका छन् । ‘लकडाउन’को कतै उग्लंघन होला कि भन्ने चिन्तामा २४सै घण्टा सडकमा पहरा दिने सुरक्षाकर्मीलाई परेको छ ।
तर, दूभाग्र्य तिनै सुरक्षाकर्मीको तलबबाट कोरोना राहत कोषमा रकम जम्मा गर्ने समाचार बाहिर आएको छ । नेपाल सरकारले गरेको यो निर्णय आफ्नो ठाउँमा ठीक होला, तर यो निर्णय गर्दा सरकारको विवेक पुगेन कि जस्तो मलाई लागेको छ ।
किनभने, कोेरोना भाइरसको संक्रमण रोकथाम गर्न ‘फ्रन्टलाइन’मा बसेर काम गर्ने सुरक्षाकर्मीलाई विश्वभरका सरकारले थप सेवा सुविधा बृद्धि गरेर प्रोत्साहन गरिरहेको बेला नेपालमा भने तिनै सुरक्षाकर्मीको तलब काट्ने गर्ने निर्णय गरिएको छ । यस घटनाले जोखिम मोलेर काम गर्ने सुरक्षाकर्मीहरुको मनोवल घटाउने काम गरेको छ ।
राष्ट्रमाथि संकट पर्दा सिंगो राष्ट्र एक ठाउँमा उभिनु हामी सबैको कर्तव्य हो । जसले जे–सक्छ, त्यो योगदान पनि यतिबेला हामी सबैलाई गरिरहेका छौँ । कोरोना उपचार कोषमा दुई अर्ब रुपैयाँभन्दा बढी जम्मा भएको समाचार बाहिर आएको छ । त्यमाथि विश्व बैंकले हालैमात्र साढे तीन अर्ब रुपैयाँ सहयोग गरेको छ । राहत कोषमा रकम जम्मा गर्नेक्रम बढेको छ । राहत कोेषमा नेपाल प्रहरीले पनि ४ करोड १८ लाख २३ हजार २२१ रुपैयाँ जम्मा गरेको छ ।
यही कुराले फेरि मेरो मथिंगल खल्बलिएको छ । कोरोना भाइरसको संक्रमणविरुद्ध २४सै घण्टा सडकमा खटिएका नेपाल प्रहरीको छाक सरकारले किन काट्नुप¥यो ? राहत कोषमा लाख, करोड र अर्बौ रुपैयाँ सहयोग गर्ने व्यक्ति र दाताभन्दा रोगसँग फिल्डमा प्रत्यक्ष लड्ने सरक्षाकर्मीहरुको योगदान बढी छ ।
सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर राष्ट्रलाई पु¥याएको योगदान करोड, अर्ब रुपैयाँसँग तुलना हुन सक्दैन । सरकारलाई रकम चाहिएकै हो भने प्रहरी कल्याण कोषबाट पनि सहयोग उपलब्ध हुन सक्थ्यो । मैले यो कुरा किन उल्लेख गरिरहेको छु भने यतिबेला कोरोना संक्रमणविरुद्ध ज्यान जोखिम मोलेर फ्रन्टलाइनमा काम गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई राज्य थप प्रोत्साहित गर्नुपर्छ । सकिन्छ भने यो संकटको अवधिमा काम गर्नेहरुको तलब भत्ता दोब्बर बढाउनुपर्छ । केही विपत्त आइलागे तिनको परिवारको जिम्मा राज्यले लिनुपर्छ । तर, सिपाही र हवल्दारभन्दा माथिका दर्जाका तलव काटिनु गाँस काटिनु बराबर हो ।
आएको तलवले छोराछोरीको स्कुल ‘फि’ तिर्नसमेत सकिन्न । प्रहरीको रासन भत्ता बढाउने कुरा दुई वर्षदेखि त्यत्तिकै छ । समस्यै–समस्या भएपछि धेरै प्रहरी सेवाबाटै राजीनामा दिएर जानुपर्ने बाध्यता छ । यस्तो अवस्थामा २४सै घण्टा शान्ति सुरक्षा र आइपर्ने संकटको सामना गर्ने सुरक्षाकर्मीको छाक काट्ने कुराले पटक्कै मेरो मन बुझेको छैन ।
सकिन्छ भने नेपाल सरकारले यो निर्णय फिर्ता लिएर प्रोत्साहन भत्ता बढाउन सबैको हितमा हुनेछ । किनभने, यो मानिसको जीवनसँग ख्यालठट्टा गर्ने बेला होइन । हरेक नागरिकलाई आफ्नो परिवारको माया भएझैँ सुरक्षाकर्मीहरुको पनि परिवार होला । तिनको परिवारको माया होला । राष्ट्रलाई संकट पर्दा आफ्नो ज्यान जोखिम मोलेर ‘ड्युटी’मा खटिने सबैको मन सरकारले यतिबेला जित्नैपर्छ । त्यसका लागि निर्णय गर्दा सरकारले विवेक पु¥याउनुपर्छ ।
जय नेपाल

(पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलसँग कुराकानीमा आधारित)
प्रकाशित मिति : शुक्रबार, २८ चैत २०७६ ।

प्रतिक्रिया दिनुहोस्