Logo
Logo

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक


1.5k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । राप्रपाले यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा पार्टीले उठाउँदै आएको हिन्दूराष्ट्र, सङ्घीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्यप्रगति, पार्टीको आन्तरिक विवाद समाधान लगायतका विषयमा छलफल हुने नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार समसामयिक परिस्थितिबारे छलफल गरिनेछ । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिनुका साथै सङ्गठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिनेछ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक प्रतिवेदन तथा महामन्त्री डा धवलशम्शेर जवराले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् । बैठकमा पार्टीको आगामी कार्यक्रम, युवा सहभागिता वृद्धि गर्ने, विधान आवश्यक हेरफेरका लागिसमेत छलफल गरिने नेता श्रेष्ठले बताए ।

पार्टी मातहतका विभिन्न समिति तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधनका विषयलाई परिमार्जन गर्न माग गरिएको जनाइएको छ ।

विभिन्न समितिबाट भएगरेका निर्णयलाई अनुमोदन गरिने बैठकमा पार्टीको कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान परिमार्जन गर्न सुझाव आएको केन्द्रीय प्रचार विभाग सदस्य सचिव सुन्दर पाण्डेले जानकारी दिए ।

पार्टी अध्यक्ष लिङ्देनले उद्घाटन गर्ने उक्त बैठकको समाचार प्रचारप्रसारका लागि सूचना सङ्कलन केन्द्र, सहभागी प्रतिनिधिको परिचयपत्र व्यवस्थापन, सुरक्षा व्यवस्थाका लागि स्वयंसेवकको व्यवस्था गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा करिब चार सय प्रतिनिधिको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्