Logo
Logo

सभामुखलाई पत्र: ७ सांसदले विश्वासको मत दिन मिल्दैन


945
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले नयाँ पार्टी गठन गरेका ७ सांसदले विश्वासको मत दिन नमिल्ने भन्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । नयाँ पार्टी गठन गरेका ७ सांसदलाई विश्वासको मतको प्रक्रियामा सहभागी नगराउन जसपा नेपालले सभामुखलाई पत्र पठाएको हो ।

आइतबार संसद् सचिवालयमा दर्ता भएको पत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मत र प्रतिनिधि सभाको कुनै पनि गतिविधिमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश नआउन्जेल सामेल गराउन नमिल्ने भन्दै सभामुखलाई पत्र मार्फत आग्रह गरेको हो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले नयाँ पार्टी गठन र त्यसका कामकारबाहीका अवस्था यथास्थितिमा राख्न आदेश गरेको थियो । यही आदेशमा टेकेर सभामुखलाई पत्र लेखेको जसपा नेपालले जनाएको छ ।

जसपा नेपालले आइतबार नयाँ पार्टीमा गएका सांसदहरूलाई विश्वासको मत दिनबाट रोक्न अर्को रिट सर्वोच्चमा दर्ता गरेको छ । अशोककुमार राईलगायत ७ सांसदले जसपा नेपाल छोडेर जसपा गठन गरेका छन् । प्रधानमन्त्रीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्