Logo
Logo

मन्त्री र सचिवबीच बोलचाल बन्द


3.6k
Shares

काठमाडौं । उपेन्द्र यादव स्वास्थ्यमन्त्रीबाट हटेसँगै सचिव मधुसुदन बुर्लाकोटीलाई समस्या परेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले सरकार छाडेपछि उनलाई त्यहाँ समस्या परेको हो । उपराष्ट्रपति कार्यालयमा हावा खाएर बसिरहेको सचिव बुर्लाकोटी यादव मन्त्री भएसँगै स्वास्थ्यमा पुगेका थिए ।

आफ्नै नेतालाई पार्टी फुटाएर प्रतिस्थापन गरेका नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र स्वास्थ्यका प्रशासनतर्फका सचिव बुर्लाकोटीबीच टसल सुरु भएकै कारण समस्यामा परेका हुन । अहिले मन्त्री प्रदीप यादव र सचिव बुर्लाकोटीबीच बोलचाल बन्द भइसकेको छ ।

निवर्तमान स्वास्थ्यमन्त्री यादवले सरकार छोड्ने पूर्वसन्ध्यामा भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन गर्ने निर्णय गरेका थिए । नवनियुक्त स्वास्थ्यमन्त्री यादवले सो निर्णय उल्टाइदिएपछि प्रशासन सचिव बुर्लाकोटी र मन्त्री यादवबीच दरार उत्पन्न भएको हो ।

स्रोतका अनुसार एकै दिनमा दुई जनाबीचको सम्बन्धमा यति ठूलो दरार परिसकेको छ कि सचिव बुर्लाकोटीले यादव मन्त्री बनेर आएको दुई दिन नबित्दैं मुख्यसचिव डा. बैकुण्ठ अर्यालसँग भेट गरेर आफ्नो सरुवा गराइदिन आग्रह गरिसकेका छन् ।

उपेन्द्रले रुचाएका सचिवका रुपमा बुर्लाकोटी एक महिनाअघि मात्रै स्वास्थ्य मन्त्रालयमा आएका हुन् । उपेन्द्रले अघिल्लो पटक मन्त्री हुँदा सहसचिवका रुपमा बुर्लाकोटीसँग काम गरेको अनुभवका आधारमा उनलाई मन्त्रालय ल्याएका थिए ।

उपेन्द्रलाई नै प्रतिस्थापन गरेर आएका प्रदीपले आफूले भेरीको मेसु बनाएका डा. राजन पाण्डेको नियुक्ति बदर गरिदिएपछि बुर्लाकोटीको मन्त्री प्रदीपसँग दूरी बढेको हो । हक्की स्वभाव र केही गरौं भन्ने भावनाका साथ स्वास्थ्य मन्त्रालयमा आएका बुर्लाकोटीले पछिल्लो समय स्वास्थ्य मन्त्रालयका केही प्रशासनिक सुधारको काम सुरु गरेका थिए । उनले कार्यालय समयमा निजी अस्पतालमा गएर काम गर्ने चिकित्सक, कार्यलय समयमा एनजिओका कार्यक्रममा व्यस्त रहने कर्मचारीहरुलाई ठेगान लगाउन सुरु गरेका थिए ।

जसको नतिजा वीर अस्पतालका ‘भगौडा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु’ कार्यलय समयमा निजी धाउनबाट तर्सिएका थिए । सचिव बुर्लाकोटी आफै काठमाडौंका ठूलो अस्पतालहरुमा बिरामी भेषमा पुगेर ‘भगौडा’हरुको नामसमेत संकलन गरेका थिए ।

उनले त्यस्ता ‘भगौडा’हरुमाथि एक्सनका लागि तयारी थालिरहेका थिए । अर्को, सरकारी अस्पतालको नाम बेचेर निजीमा काम गर्ने चिकित्सकहरुलाई पनि बुर्लाकोटीले तारो बनाएका थिए । उनले निजी क्लिनिक र अस्पतालमा आफ्नो र सरकारी अस्पताल नाम झुण्डाएर कानुन विपरित काम गर्ने चिकित्सकहरुलाई पनि लगाम लगाउनका उर्दी जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्