Logo
Logo

सहकारी प्रकरण : टिओआर टुंग्याउन कार्यदलको बैठक बस्दै


1.1k
Shares

काठमाडौं । सहकारी ठगीको विषयमा छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजेबाट सिंहदरबारस्थित कानुन मन्त्रालयमा सुरु हुनेछ ।

कार्यदलको बैठक आज दोस्रो पटक बस्न लागेको हो । यसअघि गत आइतबार बसेको कार्यदलको बैठकले कार्यादेशमा सहमति जुटाउन सकेको थिएन ।

सत्ता र प्रतिपक्ष दलबीच गत शनिबार सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । सो सहमति अनुसार समितिको कार्यादेश (टिओआर) टुङ्गो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।

गिरीको नेतृत्वमा गठित चार सदस्यीय कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् । पहिले गरेको सहमतिबमोजिम क्षेत्राधिकार तोक्न प्रमुख प्रतिपक्षी कांग्रेस राजी छैन ।

सत्तापक्षले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नलिई सहकारी प्रकरणको छानबिन गर्नुपर्ने क्षेत्राधिकार तोक्नपर्ने अडान राखेको छ । तर, कांग्रेसले भने लामिछानेको नाम उल्लेख गरेर छानविन गरिनुपर्ने माग राखेका कारण टिओआरमा सहमति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्