Logo
Logo

राशन घोटाला रोक्न आइजी असफल


3.3k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका बाहिनीहरुमा आवश्यकताभन्दा जनशक्ति राखेर राशन घोटाला हुने गरेको छ । आवश्यकताभन्दा बढी जनशक्ति राख्ने र केहीलाई आउट तथा केहीलाई घर बिदामा पठाएर राशन घोटाला हुने गरेको तथ्य बाहिरिए पनि नियन्त्रण हुनसकेको छैन । सुशासन कायम गर्ने कुरामा आइजी अर्याल सफल भए पनि राशनमा भएको भ्रष्टाचार नियन्त्रण गर्न उनी असफल भएका छन् ।

आइजी अर्यालले पटक–पटक निर्देशन दिँदासमेत उनको निर्देशन पालना नहुनुले सशस्त्रमा विकृति बढेको छ । सशस्त्रमा प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षामा कडाई गरेको र सीमाबाट हुने तस्करीमा कमी हुन थालेपछि बाहिनीपतिहरुले आर्थिक उपार्जनको नयाँविधि राशनलाई बनाएका हुन् ।

बाहिनीपतिहरुले दरबन्दीभन्दा बढी जनशक्ति राख्ने र उनीहरुलाई घर बिदामा पठाउँदा ‘हिड्न’ रुपमा कमाउने माध्यम बनेको छ । देशभरका बाहिनीमा आवश्यकताभन्दा बढी दरबन्दी राखिएको पाएपछि केही दिनअघि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले परिपत्र गरी बढी जनशक्तिलाई हटाउन आदेश दिएका छन् । यसको सबैभन्दा बढी दुरुपयोग गर्नेमा डिआइजीहरु अञ्जनीकुमार पोखरेल, कुमार न्यौपाने, लक्ष्मण सिंह, गणेश ठाडा रहेका छन् ।

बराह बाहिनी मुख्यालय सुनसरीमा जम्मा दरबन्दी १७२ मात्रै रहेको छ । तर त्यहाँ ३ सय ७८ जनशक्ति रहेको पाइएको छ । २ सय ६ जना बढी जनशक्ति लिएर पोखरेलले दुरुपयोग गरेको देखिएको छ । आवश्यक दरबन्दीभन्दा बढी रहेको जनशक्तिलाई घर बिदामा छाड्दा हरेक महिना ५ हजार ५ सयका दरले राशन भत्ता बाहिनीमा कोर्ट मास्टलाई बुझाउनुपर्ने बाध्यता पारिएको थियो । यसरी एक वर्ष उनले आफू सादगी जीवन बिताएको भन्दै दरबन्दीभन्दा बढी जनशक्ति राखेर राशनमा घोटाला गरेको स्रोतको दाबी छ ।

मधेश प्रदेशमा पनि ९९ सय जना बढी दरबन्दी रहेकामा त्यहाँ पहिला नै कटौती गरी पठाइएको छ । त्यहाँ रहेको जनशक्तिलाई सीमा क्षेत्रको सुरक्षाका लागि खटाइएकाले त्यहाँ थप गर्ने गरी पठाउन लागिएको छ ।

गढीमाई बाहिनीमा रहेका गणेश ठाडा सबैभन्दा बढी जनशक्ति दुरुपयोग गर्ने डिआइजी हुन् । उनकोमा २ सय २७ जना बढी जनशक्ति रहेको छ । मुक्तिनाथ बाहिनी कास्कीका कालिदास धौबजी पनि जनशक्ति दुरुपयोग गर्ने अर्का डिआइजी हुन । उनकोमा ८५ जना बढी जनशक्ति रहेको ती सबै आउट गएको रिपोर्ट मूख्यालयमा रहेको छ ।

उनी अहिले बराह बाहिनीमा पुगेका छन् । विन्ध्याबासिनी बाहिनी रुपन्देही, महेश्वरी बाहिनी सुर्खेत, बैद्यनाथ बाहिनी कैलालीपनि जनशक्ति दुरुपयोग गर्ने बाहिनीहरु हुन् । रुपेन्देहीमा १ सय ५५, सुर्खेतमा १५२ र कैलालीमा २ सय १२ जनशक्ति दुरुपयोग नगर्नेमा भने पशुपतिनाथ बाहिनी मात्रै रहेको छ । सो बाहिनीमा दरवन्दीभन्दा बढी ३० जना मात्रै जनशक्ति भेटिएको थियो । त्यहाँ पुरुषोत्तम थापा कार्यरत रहेका थिए ।

यसअघि सिपाहीलाई बिदामा पठाएर डिआइजीहरुले रासनको पैसा खाएको आरोपमा सशस्त्र प्रहरीका डिआइजी कारबाहीमा परेका थिए । चार वर्ष अघि सुनसरीस्थित नम्बर १ बराह बाहिनीका डिआइजी मन्दीप श्रेष्ठसहित आधा दर्जन अधिकारीमाथि सशस्त्रले कारबाही गरेको हो । अहिले पनि दरवन्दीभन्दा बढी जनशक्ति राख्ने बाहिनीपतिबारे सशस्त्र प्रहरी बलले आवश्यक छानवीन प्रकृया अघि बढाएको छ ।

खासगरी वर्तमान सरकारले सीमा क्षेत्रबाट तस्करी हुने गरेको र राजश्वमा कमी आएको भन्दै सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा कडा गर्न निर्दैशन दिएपछि बाहिनीपतिहरुले घुमुवा राख्ने र आवश्यकभन्दा बढी जनशक्ति राखेर अतिरिक्त आम्दानी गर्ने गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार सीमा क्षेत्रबाट अतिरिक्त आम्दानी हुन छाडेपछि बाहिनीपतिहरु राशनबाट कमिशन खाने धन्दामा लागेका हुन् । ‘बाहिनीपतिहरु नै राशन घोटलामा लागेका छन्, उनीहरुले बाहिनीमा रहेको जनशक्तिलाई परिचालन गर्ने क्रममा विश्वासिलो कोर्ट मास्टर नियुक्ति गर्ने र उनीहरु मार्फत व्यवस्था मिलाउने गरेका छन’, सशस्त्र प्रहरी बलका एक अधिकृतले दृष्टिसँग भने । यस विषयमा गृहमन्त्रीले कडा निर्देशन दिनुपर्ने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्