Logo
Logo

उद्योगमन्त्रीभन्दा पीए शक्तिशाली


12.2k
Shares

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सचिवालयमा नियुक्ति गर्ने क्रमलाई जारी नै राखेका छन् । मन्त्री भएको अढाइ महिना हुँदै गर्दा भण्डारीको ध्यान सचिवालयमा नियुक्ति र कर्मचारी सरुवामै केन्द्रित हुने गरेको छ ।

भण्डारी एमालेबाट बैतडीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनको सचिवालयमा भने कोशी प्रदेश घर भएका कर्मचारी हावी हुन पुगेका छन् । सुदूरपश्चिमको कोटाबाट मन्त्री भएका भण्डारीका निजी सचिवका रुपमा विवेक घिमिरे कार्यरत छन् । बिहीबार मात्र सचिवालयमा नयाँ सदस्यका उदयपुर सिमेन्टमा कार्यरत कर्मचारी कृष्ण केसीलाई भित्र्याइएको छ ।

केसी ६ जनाभन्दा बढी मन्त्रीको सचिवालयमा बसेर अर्थ संकलन गर्न सकिन्छ भन्ने कुरामा अनुभवी मानिन्छन् । पूर्वमन्त्रीहरु रविन्द्र श्रेष्ठ, महेश बस्नेत, सत्यनारायण मण्डल, युवराज कार्की लगायतका मन्त्रीहरुको पीए बसेका केसीलाई उठाउन खप्पीस र उद्योगका नाका नाकाका जानकारी भएकाले सचिवालयमा राखेको स्रोत बताउँछ ।

उदयपुर सिमेन्ट उद्योगका कर्मचारी विगत लामो समयदेखि मन्त्रीकै सचिवालयमा बसेर तलव खाँदैआएका छन् । सिमेन्ट उद्योग करोडौं घाटामा छ । तर कर्मचारी भने मन्त्रीको सचिवालयमा सेटिङकै लागि पीएमा रमाउने गरेका छन् ।

संस्थान डुबाउन मरिहत्ते गरेर लागेका तिनै कर्मचारीमध्येका केसीले मन्त्री भण्डारीलाई कसरी सफल बनाउलान् त्यो भने हेर्न बाँकी नै छ । बुटवलका केसीलाई उद्योग सचिव कृष्णबहादुर राउतले सचिवालयमा राख्नका लागि मन्त्री भण्डारीसमक्ष बातावरण तयार गर्ने काम गरेको बताइन्छ । केसीले एमाले उपाध्यक्ष बिष्णु पौडेलमार्फत् पनि पीए हुनका लागि फोन गराएका थिए ।

मन्त्री भण्डारीको सचिवालयका सदस्यमा राखिएका केसी ठगीमा मुछिएका पात्र रहेको खुलेको छ । उदयपुर सिमेन्टका मेकानिकल इञ्जिनियरसमेत रहेका भण्डारीका सचिवालय सदस्य कृष्णकुमार केसीले वैदेशिक रोजगारसम्बन्धी वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै सात जना युवाहरुलाई बिचल्लीमा पारेकोमा विवादमा छन् ।

खोटाङका घिमिरेलाई निजी सचिव मन्त्रीको क्षेत्रका कर्मचारी र नेताहरुले असन्तुष्टि जाहेर गरिरहेको बेला केसीको प्रवेशले उक्त समुहमा झन् आक्रोश बढ्ने देखिएको छ । घिमिरेले छायाँ मन्त्रीको भूमिका खेलेको आरोप लागिरहेको बेला केसीको प्रवेश भएको छ । घिमिरे र केसीबीच नै शक्ति प्रतिस्पर्धामा द्वन्द र विवाद बढ्ने अड्कलबाजी मन्त्रालयकै कर्मचारीहरुले गरेका छन् ।

घिमिरेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीकै दबाबमा मन्त्री भण्डारीले निजी सचिवमा राखेको बताइन्छ । ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा काम गरिसकेका घिमिरे सोही सम्बन्धका कारण उद्योग मन्त्रालयको हर्ताकर्ता बन्न पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्