Logo
Logo

पुरुषमन्त्रीलाई ‘ड्रेसिङ टेबुल’ किन चाहियो ?


2.1k
Shares

काठमाडौं । मन्त्रीहरु पनि तालतालका छन् । मन्त्री भएर मन्त्रीक्वार्टरमा छिर्नासाथ चाहिने नचाहिने कुरा ‘डिमान्ड’ गरेर कर्मचारीहरुलाई हैरान गर्ने गर्छन् । हुँदाहुँदा पुरुष मन्त्रीले समेत अनुहार सजाउन ‘ड्रेसिङ टेबुल’ डिमाण्ड गरेपछि कर्मचारीहरु हाँस्न थालेका छन् ।

आजसम्म पुरुष मन्त्रीले मन्त्रीक्वार्टरमा ड्रेसिङ टेबुल डिमाण्ड गरेको कुरा मन्त्रीक्र्वाटर व्यवस्थापन गर्ने सहरी विकास मन्त्रालयका कर्मचारीलाई थाहा छैन । तर, कुरो सत्य हो । अहिले सहकारी प्रकरणमा तातो तावामाथि बसेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यस्तो ‘डिमाण्ड’ गरेका हुन् ।

सञ्चारकर्मी हुँदा त अन्तर्वार्ता लिँदा, कार्यक्रम प्रस्तुत गर्दा टेलिभिजनभित्रै कक्षमा ड्रेसिङ टेबुलको व्यवस्था गरिएको हुन्छ, त्यो आवश्यक पनि छ । तर मन्त्री भइसक्दा पनि ड्रेसिङ टेबुल ‘डिमाण्ड’ गर्नुको कारण कसैलाई थाहा छैन । बरु शिक्षामन्त्री सुमना श्रेष्ठले त्यस्तो डिमाण्ड गरेको भए सुहाउने थियो । किनभने महिलाहरुलाई ‘मेकअप’ आवश्यक पर्छ । तर सुमनाले ‘मेकअप’ गर्न ड्रेसिङ टेबुल’ डिमाण्ड गरिनन्, उनले बेडरुमको कार्पेट फेर्न लगाइन् ।

उनीले बेडरुममा कार्पेट पुरानो भएर फेर्न लगाएकी भने होइन, एलर्जी भएर नयाँ कार्पेट फेर्न लगाएकी हुन् । तर गृहमन्त्री लामिछानेलाई ड्रेसिङ टेबुलको आवश्यकता बुझ्दै जाँदा उनकी श्रीमती निकिता पौडेललाई ड्रेसिङ टेबुल आवश्यक परेको रहेछ । पुरुष मन्त्रीको निवासमा ‘डे«सिङ टेबुल’ किन्ने बजेट नै हुँदैन । सोफा, पर्दा, कार्पेट भए किन्न हुन्थ्यो ।

‘डे«सिङ टेबुल’ किन्दा त्यसको रकम भोलि महालेखाले बेरुजुमा राख्न सक्छ । त्यही भएर सहरी विकासका कर्मचारीहरु अन्योलमा परेका छन् । उनीहरु भन्छन्– आज ‘डे«सिङ टेबुल’ चाहियो भन्लान्, भोलि ‘मेहअप’को सामान चाहियो भन्लान् । मन्त्रीलाई भए त ठिकै थियो, मन्त्रीकी श्रीमतीलाई ‘मेकअप’को सामान किन्ने बजेट शीर्षक नै छैन, क्या फसाद !

अर्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पनि क्वार्टरमा पहिलेदेखि रहेको सोफा सेट हटाएर नयाँ फेर्न लगाएका छन् । जबकि, त्यहाँ एक वर्ष अघि मात्रै नयाँ सोफा किनेर राखिएको थियो । सोफा नयाँ हो भन्दा पनि महासेठले नमानेपछि नयाँ सोफा सेट किनेर ल्याउनुपरेको स्रोतले बतायो । एक वर्ष अघि किनेको सोफा सेट भने नीति अनुसन्धान प्रतिष्ठान कार्यालयलाई दिइएको छ ।

रास्वपाका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले कार्यालयलाई नसोधी आफूखुशी फ्रिज किनेका छन् । उक्त फ्रिजको बिल पठाएपछि मात्रै कार्यालयले थाहा पाएको थियो । अर्यालले किनेको फ्रिजको बिलको भुक्तानी कार्यालयले गरिसकेको छ ।

श्रममन्त्री अर्यालले कार्पेट पनि फेर्न लगाएका छन् । ‘हरेकपटक मन्त्री फेरिएपछि बेडसिट, सिरकलगयतका सामान फेरेर नयाँ दिने गरिएको छ । पकाउने, खाने भाँडादेखि इन्डक्सन चुलो, ग्यास चुलोसमेत मन्त्री फेरिएलगत्तै नयाँ किचेन सेट किनेर दिने गरिएको छ । तर, कार्पेट, फ्रिज नै फेर्ने गरिएको थिएन । सायद नयाँ दलको मन्त्री भएकाले होला सबै सामान फेर्न खोजेको’ स्रोतले भन्यो ।

शिक्षामन्त्री सुमना श्रेष्ठले बेडरूमको कार्पेट फेर्न लगाएकी छिन् । राम्रो ब्राण्डको कार्पेट भए पनि एलर्जी हुने भन्दै श्रेष्ठले कार्पेट फेर्न लगाएका हुन् । श्रेष्ठको बेडरुपमा कोरियन कम्पनीको प्लेन कार्पेट किनेर लगाइएको छ ।

पछिल्लो पटक नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खातुन मन्त्रीक्वार्टर प्याक भएकाले बाहिरै बसिरहेका छन् । सरकारी निवासबाहिर बस्ने मन्त्रीलाई फर्निचर व्यवस्थापनका लागि एकमुस्ट २ लाख रुपैयाँ र मासिक ४० हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने गरिएको छ ।

कार्यविधिभन्दा बाहिरका सामान किनेर ल्याऊ भनेर मन्त्रीका पिए र श्रीमतीहरूले दबाब दिने गरेको एक कर्मचारीले बताए । मन्त्रीहरूका लागि भैँसेपाटीमा नयाँ क्वार्टर बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्