Logo
Logo

नेपालमा जापानी महिलाको धन्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपालमा बस्ने विदेशीमाथि निगरानी र कारबाही गर्न सरकारले विदेशी नागरिक अनुगमन निर्देशिका बनायो । निर्देशिका लागू गरी अध्यागमन विभागका कर्मचारीले विदेशीलाई पक्राउ पूर्जी दिएर नियन्त्रणमा लिन सकिने अधिकार दिइयो ।
सोही आधारमा सुरुका दिन धर्मप्रचारमा संलग्न केही विदेशीलाई पक्राउ गरेर निष्काशन समेत गरियो । तर, अहिले अध्यागमन विभाग सुस्ताएको छ । जसकारण नेपालमा अवैध गतिविधिमा संलग्न विदेशीहरु हौसिएका छन् । कतिपय अवस्थामा सरकारी अधिकारीहरु अवैध गतिविधिमा संलग्न भएको प्रमाण नै फेला पर्दा समेत आँखा चिम्लिएर बसेका छन् ।
जस्तो कि गत बिहीबार कैलालीमा दुई जापानी नागरिक धर्म प्रचारको धन्दामा संलग्न भएको खुल्यो । उनीहरुमध्ये एक जना बाइबलसहित पक्राउ समेत परे । तर, स्थानीय प्रशासनले दबाबको भरमा उनीहरुलाई छाडिदिएको छ ।

रिनाको सोनोदा नामक जापानी युवतीलाई प्रहरीसहिको टोलीले पक्राउ गरेको थियो । पर्यटक भिसामा बस्दै आएकी उनी धनगढी– ५ हसनपुरस्थित किशोर जोशीको घरमा भाडा बस्दै आएकी थिइन् । उनले स्थानीयहरुलाई बाइबल बाँड्ने र पढाएर सुनाउँदै आएको उजुरी आएको थियो । उनको साथबाट अनुगमन टोलीले बाइबल समेत नियन्त्रणमा लियो । तर, उनलाई निष्कासनका लागि भने अध्यागमन विभागमा नपठाई छाड्ने काम गरियो । नेपाली भाषा समेत बोल्न जान्ने उनी पटक पटक पर्यटक भिसामा नेपाल आई धर्मप्रचारमा संलग्न रहेको खुलेको छ । अध्यागमन कार्यालय धनगढीका प्रमुख ओमकार शाहको यो प्रकरणमा शंकास्पद भूमिका रहेको स्रोत बताउँछ ।
त्यस्तै धनगढीमै बिक्की नामक एक व्यक्ति पनि वर्षाैदेखि धर्मप्रचारमा संलग्न छन् । धनगढी–५ स्थित दीपक आलेको घरमा भाडामा बस्ने उनी बाइबल बाँड्ने र क्रिश्चियन धर्म प्रचारमा संलग्न छन् ।
उनको डेरामा प्रहरीसहितको टोली छापा हान्न जाँदा उनी भेटिएनन् । फोन गर्दा उनले वकिलसहित आउने बताए । त्यसयता उनको मोबाइल स्वीच अफ छ । स्थानीय प्रशासनले त्यसपछि उनलाई पक्राउ गर्न चासो दिएको छैन । उनी त करिब सात वर्षदेखि अवैध रुपमा कैलालीमा बसेर धर्मप्रचारमा संलग्न रहेको समेत खुलेको छ । उनी पनि स्थानीय अधिकारीहरुलाई आर्थिक प्रभावमा पारेर उम्कने प्रयासमा छन् ।
यसरी अवैध रुपमा बस्नेहरुसँग नै सरकारी अधिकारीहरुको मिलेमतो भएको यो घटनाले देखाउँछ । हरेक जिल्लामा यसैगरी विदेशीहरु क्रिश्चियन धर्मको प्रचारमा संलग्न छन् । उनीहरुलाई कारबाही गर्न गृहले निर्देशन दिएको छ तर जिल्लाका अधिकारीहरु समेत डलरमा बिक्दा देशमा तिव्र गतिमा इसाईकरण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्