काठमाडौं । कान्तिपुर प्रकाशन गृहमा प्रहरीले धरपकड गरेको भन्दै समाजवादी प्रेस संगठन नेपालले विरोध जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ, थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स कार्यालयबाटै आज मंगलबार अपराह्न बर्दीधारी प्रहरीद्वारा पक्राउ गरिएको घटनाप्रति घोर निन्दा प्रकट गरेको छ ।

समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्री रवि लामिछानेका सहकारी ठगी, दोहोरो राहदानीलगायतका विषयमा निरन्तर समाचार प्रवाह गरिरहेको र उनीउपर कानुनी सजायका निम्ति खबरदारी गरिरहेको सञ्चार गृहका प्रमुख व्यक्तिलाई धरपकड गर्नु कान्तिपुरमाथि राज्यले प्रतिशोध साँध्नु हो ।’
‘स्वतन्त्र सञ्चार गृहभित्र प्रहरीको परेड देखाएर सिंगो सञ्चार क्षेत्रलाई आतङ्कित पार्ने सरकारको प्रयत्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रतिकूल छ । यसले सञ्चार क्षेत्रमाथि विगतमा पञ्चायत तथा शाही सत्ताले समेत हिम्मत गर्न नसकेको बर्बरतापूर्ण व्यवहार प्रदर्शन गरेको हाम्रो ठहर छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तै विज्ञप्तिमा थपिएको छ, ‘समाचारका विषयमा कुनै आपत्ति या प्रतिक्रिया भए त्यसका निम्ति विद्यमान सञ्चार कानुन तथा राज्यद्वारा खडा गरिएको निकायमार्फत प्रस्तुत गर्न सकिने अवस्था हुँदाहुँदै गृहमन्त्रीका अनगिन्ती अपराधजन्य गतिविधि दबाउनका निम्ति यस्तो हर्कत गरिएकोमा कुनै शङ्का छैन । हाम्रो संगठन सिरोहियाको तत्काल रिहाइ तथा प्रेस क्षेत्रमाथि सिर्जना गरिएको भयपूर्ण वातावरणको अन्त्यका निम्ति सरकारसमक्ष माग गर्दछ ।’















