Logo
Logo

देश निरंकुशतातर्फ अघि बढिरहेको छ, सिरोहिया पक्राउ ट्रेलर मात्र : शेखर कोइराला


315
Shares

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सहकारी ठगी लगायतका विवादमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई कानुन लाग्छ कि लाग्दैन ? भनेर प्रश्न गरेका छन् ।

बिहीबार प्रेस युनियन कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीलाई किन कारबाही भएन भनेर प्रश्न गरेका हुन् । नेता कोइरालाले भने, ‘देशमा कानुन छ । दुईवटा नागरिकता र पासपोर्ट भएका गृहमन्त्रीलाई त्यो कानुन लाग्दैन ?’

नेता कोइरालाले गृहमन्त्री भएकै कारण लामिछानेले सहकारी ठगीबाट उन्मुक्ति पाउन नसक्ने कांग्रेसको निष्कर्ष रहेको बताए । ‘गृहमन्त्री भएको नाताले उहाँलाई सहकारी ठगीबाट उन्मुक्ति दिने ? त्यो हुन सक्दैन’ उनले भने, ‘ठगीबाट उहाँले उन्मुक्ति पाउन सक्नु हुन्न भन्ने नेपाली कांग्रेसको ठहर छ ।’

सहकारीका सम्बन्धमा लामिछानेले केही नगरेको भए गृह मन्त्रालय छाडेर अर्को मन्त्रालय रोज्नुपर्ने उनको भनाइ छ । डा कोइरालाले भने, ‘दुःख गरेर राखेको पैसा सहकारीबाट हिनामिना हुँदा उहाँ मैले केही गरेको छैन भन्नु हुन्छ । छैन भने गृह मन्त्रालय छाडेर अर्को मन्त्रालय जानुस् । नेपाली कांग्रेसले राजीनामा पनि माग्दैन । पुलिसलाई स्वतन्त्र भएर काम गर्न दिनुस् ।’
निष्पक्ष छानबिन एवं अनुसन्धान गर्न दिनुपर्ने ठाउँमा भएका गृहमन्त्री नै ढाकछोप गर्न लाग्नु अत्यन्तै गम्भीर विषय भएको उनले बताए ।

नेता कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको प्रसंग जोड्दै भने, ‘पुलिसले जे मन लाग्छ त्यही गर्ने ? उसलाई समात्नै पर्ने थियो ? कि उ भागिरहेको थियो ? पुलिसलाई अधिकार छ भनेर जेपनि गर्न पाउँछ ? त्यसरी गर्न पाइँदैन । जो मान्छेले बदमासी गरेको छ, उसलाई केही नगर्ने । जो भागेकै छैन, उसलाई पक्राउ गर्ने ? यो सबै गृह प्रशासनले गराएको हो ।’

उनले देश विस्तारै निरंकुशता र अधिनायकवादतर्फ गइरहेको बताउँदै भने, ‘आज कैलाश सिरोहिया समातियो । भोलि अर्कै समातिएला । पर्सि एउटा छुट्ला । तर, हामी हेरेर रमाइरहेका छौँ । देश विस्तारै निरंकुशतातर्फ जाँदैछ । यो कुरा सबैले बुझ्न जरुरी छ ।’ सिरोहिया पक्राउ प्रकरण देश निरंकुशता र अधिनायकवादतर्फ अघि बढिरहेको ‘ट्रेलर’मात्र भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्