Logo
Logo

आज संसद बैठक बस्दै, छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने


252
Shares

काठमाडौं । आज संघीय संसद्अन्तर्गत् प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे बस्नेछ । आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण’ले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

त्यस्तै, सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । सभामुखले प्राप्त संशोधनहरू र सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने बताउँदै आएको छ । सहकारीको बचत अपचलन, हिनामिना, ठगी र दुरूपयोगको सन्दर्भमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रमुख प्रतिपक्ष सहमत भइसकेका छन् । तर, कार्यादेशमा कुरा मिल्न सकेको छैन ।

कार्यदलको बैठक अहिले बिहान साढे ८ बस्ने तयारी रहेको छ । कार्यदलले क्षेत्राधिकार टुंग्याएन भने आजको बैठक पनि कांग्रेसले अवरोध जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्