काठमाडौं । नेकपा एकीकृत समाजवादीले सदनको गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
संसदीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति भइसकेकाले कार्यादेशमा नयाँ शिराबाट सहमति खोज्न पार्टीले भूमिका निर्वाह गर्ने निर्णय गरेको उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपाली कांग्रेससँग छलफल गरी सदनको गतिरोध अन्त्य गर्न पार्टीका तर्फबाट पहल गर्ने उनले बताए । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच कार्यादेशमा गृहमन्त्रीको नाम उल्लेख गर्ने कि नगर्नेमा विवाद छ ।
बैठकले १०औं राष्ट्रिय महाधिवेशनको दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने र महाधिवेशन तयारीका लागि थप छलफल गर्न सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको दशौं महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ ।














