Logo
Logo

एनआरएन कोरियाद्वारा धन्यवाद ज्ञापन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० चैत । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया (एनआरएन)ले ‘एक व्यक्ति एक किट्स सहयोग अभियान’मा साथ र सहयोग गर्नेहरुप्रति धन्यवाद व्यक्त गरेको छ ।
एनआरएन कोरियाले उक्त अभियानमार्फत कोरोना भाइरसको संक्रण जाँच गर्ने दुई हजार थान किट्स नेपाल सरकारलाई सहयोग गरेको छ । उक्त अभियानमा सहयोग गर्ने सबैलाई प्रेस विज्ञप्तिमार्फत धन्यवाद व्यक्त गरेको हो ।
एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो मातृभूमि नेपालमा देखापरेको कोरोना भाईरस र सो को परिक्षणका लागि आवश्यक परिक्षण किट्स सहयोगका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको संयोजकत्वमा कोरियास्थित सामाजिक अभियन्ता विभिन्न नेपाली संघसंस्थाहरुको सहयोगमा संचालित ‘एक व्यक्ति एक किट्स सहयोग अभियान’अन्तर्गत अति नै छोटो समयमा हामीले आँकलन गरे भन्दा अत्याधिक धेरै सहयोग उपलब्ध गराईदिनु हुने सम्पूर्ण कोरियावासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु एवं कोरियन शुभचिन्तकहरुमा हार्दिक एनआरएन कोरिया हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।’
उक्त सहयोग अभियानका क्रममा दक्षिण कोरियामा रहेका नेपाली समुदायमा देखिएको अभुतपूर्व एकताप्रति समेत एनआएनले धन्यवाद व्यक्त गर्दै भनेको छ, ‘हाम्रो मातृभूमि प्रतिको स्नेहले स्वदेश तथा बिदेशमा रहेका हाम्रो नेपाली डायोस्पोरामा एक छुट्टै, सकरात्मक र अनुकरणीय सन्देस प्रभाव गरेको बिश्वास एनआरएन कोरियाले लिएको छ ।’
एनआरएन कोरियाले सहयोगस्वरुप प्रदान गरेको उक्त किट्स नै शुक्रबार नेपाल आइपुगेको छ । एनआरएन कोरियाले उक्त सहयोग स्वास्थ मन्त्रालयलाई हस्तान्तरण गरेको जनाएको छ ।
एनआरएन कोरियाले तत्कालका लागि दुई हजार किट्स नेपाललाई सहयोग गरेको जनाएको छ । योजनाअनुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग सम्झौता गरेर ती किट्स नेपाल सरकारलाई पठाएको थियो । त्यसका लागि एनआरएन कोरियाले त्यहाँ रहेका नेपालीसँग सहयोग संकलन अभियान थालेको थियो । त्यहाँ रहेका नेपालीले प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न एनआरएन कोरियाका अध्यक्ष सुवेदीले आग्रह गरेका छन् ।
उक्त किट्स कोभिड–१९ को संक्रमणको शंका भएका बिरामीमा हो हैन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ । किट्समा बिरामीको ¥याल राखेर स्क्यान मेसिनमा स्क्यान गरिएपछि तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्छ । उक्त किट्स चीन हुँदै नेपाल पठाइएको थियो । दक्षिण कोरियामा झण्डै ६० हजार नेपाली विभिन्न स्थानमा बसोबास गर्छन् । हालसम्म कोरियामा रहेका नेपाली कोरोना संक्रमणबाट सुरक्षित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्