Logo
Logo

केदारनाथ शर्मा दम्पतीलाई ऋण अपचलनको आरोप, ३३ अर्ब बिगोको मुद्दा


630
Shares

काठमाडौं । सहकारीबाट ऋण अपचलन गरी ११ अर्ब रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा मुद्दाको अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका सञ्चालकदम्पती केदारनाथ शर्मा र गीता शर्मालाई मुख्य प्रतिवादी कायम गरेर उनीहरूविरुद्ध ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार दुई सय ९१ रुपैयाँ बिगो दाबी गरिएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोजन हुन लागेको यो मुद्दा हालसम्मकै ठूलो आकारको भएको विभागले जनाएको छ । विभागले मुद्दाको छानबिन प्रतिवेदनको सक्कली मिसिल जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा पेस गरेको छ । नयाँ ऐनअनुसार सरकारी वकिलले नै मुद्दा जिल्ला अदालतमा दर्ता गर्नेछ ।

सहकारीको रकम अपचलन गरी त्यसको प्राप्ति र लगानी तथा कारोबारमार्फत एकीकृत गरेर सम्पत्ति शुद्धीकरण गरेको देखिएको छ । यस मुद्दामा मतियारको भूमिकामा रहेको ठहर गर्दै अन्य चारजनालाई पनि प्रतिवादी कायम गरिएको छ ।

शर्मादम्पतीका करिब ५० कम्पनीमा घरजग्गा, सम्पत्ति, बैंक मौज्दात, अन्तिम मौज्दात लगायत चलअचल सम्पत्तिको कुल रकम नौ अर्ब ५६ करोड २६ लाख २९ हजार ६ सय ६१ रुपैयाँ पुगेको छ । त्यस्तै शर्मादम्पतीका नाममा मात्र कुल एक अर्ब ६२ करोड ८० लाख रुपैयाँ देखिएको छ । दुवै गरेर कुल ११ अर्ब १९ करोड ६ लाख २९ हजार ६ सय ६१ रुपैयाँको एकीकरण भएको देखिन्छ । उक्त रकम सम्पत्ति शुद्धीकरण भएको ठहर गर्दै विभागले मुद्दाको प्रतिवेदन तयार गरेको छ ।

गैरकानुनी स्रोतबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विभागले शर्मादम्पतीविरुद्ध कुल ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार दुई सय ९१ रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसमध्ये केदारनाथलाई मुख्य कसुरदार ठहर गरेर २२ अर्ब ८१ करोड ९२ लाख ९० हजार चार सय १५ रुपैयाँ बिगो कायम गरिएको छ । सम्पत्ति शुद्धीकरण कानुनबमोजिम उक्त बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा हेरी दुईदेखि १५ वर्षको कैद तथा थप १० प्रतिशत सजाय र शुद्धीकरण गरिएको बिगो जफतको मागदाबी विभागले गरेको छ ।

त्यस्तै, गीतालाई पनि मुख्य कसुरदारकै भूमिकामा मुद्दा दायर भएको छ । उनीविरुद्ध ५२ करोड ३३ लाख ३२ हजार दुई सय ४१ रुपैयाँ बिगो कायम गरेर त्यसको दोब्बर जरिवाना र कसुरको मात्रा हेरी दुईदेखि १५ वर्षको कैद तथा शुद्धीकरण गरिएको बिगो जफतको मागदाबी भएको छ । शर्मादम्पतीको नाममा दर्ता भएका कम्पनीलाई पनि विभागले प्रतिवादी कायम गरेको छ ।

सम्पत्ति शुद्धीकरण गर्न धुलाई मेसिन (लाउन्ड्रोम्याट)को रूपमा कानुनी व्यक्तिको प्रयोग भएको भन्दै ती कम्पनीविरुद्ध प्राकृतिक व्यक्तिलाई हुने सजायको पाँच गुणासम्म र बिगो जफत गर्न मागदाबी गरिएको छ । यसको बिगो नौ करोड ५६ लाख २६ हजार २९ हजार ६ सय ६१ रुपैयाँ छ ।

मतियारको भूमिकामा रहेको ठहर गर्दै सबिना न्यौपाने, मन्दीप खवास, तेजबहादुर तामाङ, पुष्कर मल्ल, सुशील बानियाँ र प्रदीप भट्टराईलगायतलाई पनि विभागले प्रतिवादी कायम गरेको छ । उनीहरूविरुद्ध मुख्य कसुरदार (शर्मादम्पती)लाई कायम गरेको सजायको आधा सजाय र केदारनाथले लुकाएको सम्पत्ति जफतको मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्