Logo
Logo

शीर्ष नेताहरूको बैठकमा ‘टीओआर’ को भाषा नमिल्दा सहमति रोकियो


945
Shares

काठमाडौं । प्रमुख दलका शीर्ष नेताबिच भएको छलफलमा बैठकमा सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा टीओआरको भाषा के बनाउने भन्ने विषयमा सहमति जुट्न नसकेको हो । 

छानबिन समिति बनाउन दलहरूबिच सहमति भएपनि गृहमन्त्री रवि लामिछानेको नाम राख्ने वा नराख्ने भन्ने विषयमा विवाद छ । सत्तापक्ष रवि लामिछानेको नाम राख्न नहुने पक्षमा छ भने प्रतिपक्षले नाम राख्नै पर्ने अडान लिदै आएको छ । यही कारणले प्रतिपक्षले संसद बैठक अवरोध गर्दै आएका छन् ।

‘सहकारी छानबिन सम्बन्धी समिति बनाउने कुरामा सहमत छ । टीओआरको भाषा के हुने भन्ने विषयमा पनि छलफल भयो’ बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले भने, ‘छलफल सकारात्मक छ ।’

शीर्ष नेताहरूको बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे पनि छलफल भएको बताइएको छ । नेता लेखकले सिरोहिया पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको जानकारी दिए ।

शुक्रबार अपरान्ह बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिटौला, गगन थापा र रमेश लेखक तथा माओवादी केन्द्रका नेता हितराज पाण्डे सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्