Logo
Logo

अमेरिकामा पहिलो अभ्यास खेल नेपालले जित्यो


1.2k
Shares

काठमाडौं । नेपालले अमेरिकामा पहिलो अभ्यास खेल खेलमा जित हासिल गरेको छ । आइसिसी टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपालले गएराति ह्युस्टन हुरिकेनलाई ६ रनले पराजित गरेको हो ।

नेपालले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा ह्युस्टनले ८ विकेट गुमाएर १४० रनमात्रै बनायो । नेपालका लागि सोमपाल कामी र करण केसीले २-२ विकेट लिँदा रोहित पौडेल, अभिनाष बोहरा, सागर ढकाल र कुशल भूर्तेलले १-१ विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालका लागि अनिल साहले सर्वाधिक ४७ रन बनाए ।

त्यस्तै गुल्सन झाले २०, सन्दीप जोराले २१, कप्तान रोहित पौडेलले २३, कुशल मल्लले १२ र करण केसीले नट आउट १० रन जोडे । ओपनर आशिफ शेख ४ रन बनाएर आउट हुँदा कुशल भूर्तेल एक रनमै पेभिलियन फर्के । ह्युस्टनसँग नेपालले आइतबार बिहान दोस्रो अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले विश्वकप खेल्ने देशसँग औपचारिक अभ्यास खेल्नेछ ।

नेपालले जेठ १४ (मे २७)मा क्यानडा र जेठ १७ (मे ३०)मा अमेरिकासँग खेल्ने तालिका छ । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्