Logo
Logo

अमेरिकाले सन्दीपलाई किन दिएन भिसा ?


2.8k
Shares

काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटको नवौँ संस्करण सुरु हुन अब करिब एक हप्ता मात्रै बाँकी छ । टी–ट्वान्टी विश्वकप आगामी जुन एकदेखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ । विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन् । 

विश्वकप खेल्न नेपाली टोली अमेरिका पुगिसेको छ । तर, बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि अमेरिका जाने तयारीमा रहेका सन्दीप लामिछानेलाई भने अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीप आफैले सामाजिक सञ्जालबाट अमेरिकाले २०१९ मा जस्तै भिसा नपाएको उल्लेख गरेका छन् । 

तर, भिसा किन दिएन भन्ने विषय भने अहिलेसम्म खुल्न सकेको छैन । अमेरिकी दूतावासले आजभन्दा पाँच वर्ष पहिले पनि सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यो बेला उनले ट्विटरमा पोस्ट गर्दै प्रधानमन्त्री कार्यालय र अमेरिकी दूतावासलाई मेन्सन गरेपछि दूतावासले फेरि बोलाएर भिसा दिएको थियो । 

अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेपछि अहिले विभिन्न कोणबाट बहस भइरहेका छन् । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएपछि नेपाल क्रिकेट संघ (क्यान)को निलम्बनमा परेका सन्दीपलाई उच्च अदालतको फैसलाको केही घण्टामै क्यानले निलम्बन फुकुवा गरेको थियो । 

विश्वकप खेल्न अमेरिका पठाउनकै लागि क्यानले सन्दीपको निलम्बन फुकुवा गरेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०सँग अनुमति माग्यो । आइसिसीबाट लिखित जबाफ आइसकेको छैन, तर ‘क्लीन चिट’ पाइसकेको अवस्थामा उनलाई रोक्नुपर्ने कारण नभएको मौखिक जानकारी आइसिसीका पदाधिकारीहरूले दिएका थिए । आइसिसीको मौखिक जवाफपछि अमेरिका जाने तयारीमा जुटेका सन्दीपलाई दूतावासले भने भिसा दिन अस्वीकार गरेको हो । 

उच्च अदालतको पूर्णपाठ सार्वजनिक भई नसकेको र पीडित गौशाला–२६ ले सञ्चार माध्यममा पोखिरहेका पीडालाई देखेर अमेरिकी दूतावास अदालतको फैसलाको पूर्णपाठ हेर्ने मनस्थितिमा देखिन्छ । पूर्णपाठमा कस्ता आधारलाई टेकेर न्याय निरूपण गरियो भन्ने विषय निक्र्यौल नभएसम्म निर्णय गर्न हतार नगर्ने मुडमा दूतावास पुगेको बताइन्छ ।

यति मात्रै नभई न्यायिक प्रक्रियामाथि समेत प्रश्न उठिरहेको र त्यसपछिका घटनाक्रमलाई नजिकबाट हेरिरहेको अमेरिकाले आफ्नो मुलुकमा पीडितमाथि गर्ने व्यवहार र अदालती प्रक्रियाले अन्तिम रूप नलिएसम्म निर्णय गर्न नसकिने सन्देश दिन खोजेको अर्थमा समेत लिइएको छ । दूतावासले उच्चको फैसला नै अन्तिम नहुने भएकाले पूर्णपाठमा देखिएको विलम्ब र त्यसपछि सरकारी पक्षले सर्वोच्चमा गर्ने अपिलपछि त्यसको प्रभाव कस्तो पर्न सक्छ भन्ने तथ्य समेत विश्लेषण गरेको बताइन्छ । यस्ता कारण सन्दीपलाई अमेरिकाले भिसा नदिएको बुझिएको छ ।

सन्दीपलाई दूतावासले भिसा अस्वीकार गरेपछि भने नेपाली क्रिकेट प्रेमीहरू तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । यता, नेपाल क्रिकेट सङ्घले सन्दीपलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन कूटनीतिक पहल थालेको छ । सन्दीपले विश्वकप गुमाउने भन्दै क्यानले प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुद मन्त्रीसँग पहल थालेको हो । 

बिहीबार बिहान सन्दीपसँगै क्यान सचिव पारस खड्का, सन्दीपका वकिल सरोज घिमिरेसहित सांसद ज्ञानबहादुर शाही खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई भेट्न पुलचोकस्थित मन्त्री क्वार्टरमा पुगेका थिए । खेलकुद मन्त्रीलाई भेटेपछि सांसद शाहीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुद मन्त्री ज्युसँग पहल गरेका छौँ । आशा छ विश्वकप खेल्ने बाटो खुल्ने छ । नेपाली चन्द्र सूर्य झन्डा फरफराउने छ १’

मन्त्री श्रेष्ठले खेलाडीलाई भिसा उपलब्ध गराउन सबै किसिमको पहल गर्ने आश्वासन दिएका छन् । तर, अमेरिकी दूतावासले भने भिसा नीति गोप्य हुने भएकाले व्यक्ति विशेषका कुरामा टिप्पणी भने नगर्ने बताइसकेको छ । यति बेला नेपाली टोलीले भने अमेरिकाको ह्युस्टनमा प्रशिक्षण गरिरहेको छ । 

विश्वकपका लागि सबै टोलीले यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने अवस्था कायमै छ । तर, सन्दीप अमेरिका जान पाउने र टी–ट्वान्टी विश्वकप खेल्न पाउने सम्भावना भने न्यून हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्