Logo
Logo

संसद बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी


567
Shares

काठमाडौं । आज संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । अहिले बिहान ११ बजे बस्ने बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची रहेको छ । छलफलका क्रममा उठेका प्रश्नहरूको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् ।

यस्तै, सभामुखले प्राप्त संशोधनहरू र सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने जनाएको छ ।

सहकारीको बचत अपचलन, हिनामिना, ठगी र दुरूपयोगको सन्दर्भमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रमुख प्रतिपक्ष सहमत भइसकेका छन् । तर, कार्यदलको कार्यादेशमा भने कुरा मिल्न सकेको छैन । कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम तोक्ने कि नतोक्ने भन्नेमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद छ ।

कार्यादेश तय गर्ने जिम्मा पाएको कार्यदलले विषय टुंग्याउने जिम्मा शीर्ष नेताहरूलाई दिएका छन् । शीर्ष नेताहरूको बैठक अहिले बिहान बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्